रोनाल्डोको किर्तिमानमा पोर्चुगलको सहज जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १०, शुक्रबार

युरोकप छनोटमा पोर्चुगलले लिचेस्टाइनमाथि सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४–० गोलले हराउँदै जित निकालेको हो ।
पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गरे । खेलको आठौं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
४७ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दा पोर्चुगल दोब्बर अग्रताले अघि रह्यो । कप्तान क्रिस्टियानो रोनाल्डोले ५१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा पोर्चुगल ३–० अघि रह्यो ।
त्यसपछि खेलको ६३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ४–० ले विजयी भयो ।
यस खेलसँगै रोनाल्डो देशका लागि सर्वाधिक धेरै अन्तराष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बनेका छन् । यो रोनाल्डोको १ सय ९७ औं अन्तराष्ट्रिय खेल हो ।
उनी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । रोनाल्डोले कीर्तिमानी १ सय २० गोल गरिसकेका छन् ।
रोनाल्डोले सन् २००४ बाट पोर्चुगलका लागि हरेक वर्ष लगातार गोल गरेका छन् ।
यस जितसँगै पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोर्चुगल समूह जे को शीर्ष स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स