arin enterprises

सत्तारुढ दलका काठमाडौं जिल्ला अध्यक्षहरुको वैठक सम्पन्न

SamacharDesk – बिराज | २०७८ चैत्र २३, बुधबार

सत्तारुढ गठबन्धन दलका काठमाडौं जिल्ला नेताहरुले निर्वाचनमा जिल्ला तहको तालमेलको जिम्मेवारी जिल्ला समितिलाई नै दिनुपर्ने विषयमा छलफल गरेका छन् ।

काठमाडौं मंगलबार सत्तारुढ ५ दलका जिल्ला अध्यक्षहरुको वैठकले निर्वाचन विषयमा केन्द्रीत छलफल गरेका हुन् ।

वैठकमा निर्वाचनका लागि जिल्ला तहमा तालमेल वा गठबन्धनका लागि जिल्ला समितिबाटै निर्णय गर्न आ–आफ्नो पार्टी केन्द्रमा पहल गर्न छलफल गरेका हुन् ।

जिल्ला नेताहरुको प्रारम्भिक वैठकमा विभिन्न विषयवस्तुमाथि अनौपचारिक छलफल भएको वैठकमा सहभागी एक नेताले बताए ।

सोही वैठकमा व्यक्तिगत रुपमा वा सिमित समूह मिलेर भइरहेको उम्मेदवारी दावेदारी घोषणालाई रोकिनुपर्ने विषयमा गम्भीर छलफल भएको नेताले बताए ।

‘अहिले पार्टीमा कुनै पनि किसिमको सहमति वा छलफल बिना व्यक्तिगत वा सिमित समूह मिलेर उम्मेदवारी घोषणा भइरहेको छ, यसको परिणाम प्रत्युत्पादक हुन सक्छ । त्यसैले यो रोकिनुपर्ने विषयमा वैठकमा गम्भीर छलफल भएको छ’ सो नेताले भने ।

साथमा, निर्वाचनका लागि पाँचै दलको संयुक्त घोषणा पत्र जारी गर्ने विषयमा पनि वैठकमा छलफल भएको बताइएको छ ।

वैठकमा नेपाली कांग्रेसका काठमाडौ जिल्ला अध्यक्ष सबुज बानिया, नेकपा (माओवादी केन्द्र) का काठमाडौ जिल्ला संयोजक उमेश स्थापित, नेकपा (एकीकृत समाजवादी) का काठमाडौ जिल्ला अध्यक्ष कुसुम कुमार कार्की, जनता समाजवादी पार्टी (जसपा) नेपालका काठमाडौ जिल्ला अध्यक्ष श्याम कृष्ण प्रजापति र राष्ट्रिय जनमोर्चाका काठमाडौ जिल्ला अध्यक्ष झबिन्द्र बेलबासेको उपस्थिती रहेको थियो ।

Categorized in राजनीति