arin enterprises

रुसी पर्वतारोहीको शव ल्याइयो

SamacharDesk | २०८१ कार्तिक १, बिहिबार

म्याग्दीको धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गरी बुधबार काठमाडौं ल्याइएको छ ।

हिमाल आरोहणका क्रममा सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरूको शव ११ दिनपछि भेटिएको थियो ।

बुधबार बिहान एभरेस्ट एयरको हेलिकोप्टरबाट पुगेको उद्धार टोलीले घटनास्थलबाट शव सङ्कलन गरी आधारशिविरमा ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले रुसी पर्वतारोहीको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाएको जानकारी दिनुभयो ।

एयर अल्टिच्युडको हेलिकोप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।

इटली आधार शिविरबाट शवलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको बताइएको छ । आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार ६ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

प्रहरीका अनुसार रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकोप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव खराब मौसम र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो ।

उद्धारकर्ता हेलिकोप्टरबाट डोरीमा झुन्डिएर शव भएको ठाउँमा पुगी संकलन गरेका थिए ।

Categorized in राष्ट्रिय