arin enterprises

६ महिला पत्रकारहरुलाई साधना पत्रकारिता सम्मान

SamacharDesk – बिराज | २०८० चैत्र १२, सोमबार

उपप्रधान साथै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले महिलाको विकास नभई समाज विकास हुन नसक्नेमा जोड दिएका छन् ।

काठमाडौंमा सम्पन्न एक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री यादवले परिवार, समाजलाई सहि बाटोमा बढ्ने शिक्षा महिलाले नै दिन सक्ने भएकोले समाजको विकास हुन महिलाकै विकास हुनुपर्ने बताएका हुन् ।

नेवार पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले ११४औं महिला दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेर क्रियाशिल महिला पत्रकारहरुलाई साधना महिला पत्रकारिता सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा मन्त्री यादवले ६ जना क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरे । मन्तव्यको क्रममा उपप्रधानमन्त्री यादवले महिला पत्रकारहरु पत्रकारिता क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सम्मानयोग्य भएको धारणा राखे ।

गोरखापत्र दैनिककी यलु जोशी, नेपाल समाचारपत्रकी भगवती तिमल्सिना, नेपाल टेलिभिजनकी पवन वर्षा शाह, मेट्रो एफ एमकी रिता महर्जन, नयाँ पत्रिकाकी शान्ति तामाङ र स्वतन्त्र फोटो पत्रकार सुनी बनेपालीलाई सम्मान गरिएकाे थियाे ।

साधना महिला पत्रकारिता सम्मानको यो आठौँ संस्करण हो । सोही अवसरमा दबूको त्रैमासिक प्रकाशन नेपालभाषा पत्रिका ‘आज्जु’को पनि उपप्रधान मन्त्री यादवले बिमोचन गरेका थिए ।

दबूूका केन्द्रिय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले दबूले क्रियाशिल पत्रकारहरुको प्रोत्साहन र सम्मान गर्नुका साथै, नेवार पत्रकारहरुको हक, अधिकारको लागि संस्थाले पाइला चालिरहने बताए ।

गलत इतिहासलाई सच्याउँदै वास्तविक इतिहास स्थापित गर्नको लागि दबूले संघर्ष गरीरहेको र गलतीलाई नसच्याइएसम्म आफुहरु चुप नलाग्ने उद्घोष पनि अध्यक्ष श्रेष्ठले गरे ।

समारोहमा दबूका सह सचिव एवं कार्यक्रम संयोजक सुनिता महर्जन, उपाध्यक्ष रचना श्रेष्ठले दबूको गतिविधि, उद्देश्य आदिको बारेमा प्रकाश पार्दै आफ्ना भनाई राखेका थिए ।

दबूका निवर्तमान अध्यक्ष सुरजबीर बज्राचार्य, कानूनी सल्लाहकार किरण शाक्य, केन्द्रिय सल्लाहकार विजयरत्न असंबरे, दबूको ललितपुर शाखा अध्यक्ष मन्जु बज्राचार्य लगायतले मन्तव्य राखेका थिए

Categorized in समाज
SKIP THIS buddhan jayanti 2082