साझाको तीनवटा विजुली बस संचालनमा
SamacharDesk | २०७९ आषाढ २३, बिहिबार

साझा यातायातले आजबाट काठमाडौंको सडकमा तीनवटा ईलेक्ट्रिक बस संचालनमा ल्याएको छ ।
पहिलो चरणमा ल्याएको तीनवटा बस परीक्षण गरी नम्बर प्ले र रुट अनुमति लिएर काठमाडौंमा सेवा दिन थालेका हुन् ।
विद्युतीय बस रत्नपार्क, केशर महल लैनचौर हुँदै नयाँ बसपार्क हुँदै एयरपोर्टको रुट र लगनखेल रत्नपार्क हुँदै बुढानिलकण्ठसम्म संचालन भएको साझा यातायातले जनाएको छ ।
विहीबार ११ बजे पुल्चोकको कार्यालयबाट साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरिया झण्डा हल्लाएर औपचारिक शुभारम्भ गर्नुभएको हो ।
बसमा चालक र सहचालक महिलालाई राखिएको छ । त्यसका लागि चार महिला चालक र पाँच जना महिला सहचालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षाका बारे तालिम समेत दिइएको यातायातले जनाएको छ ।
उक्त बसहरु चीनको नाजिङस्थित सीएसटीेसीओ कम्पनीमा निर्मित भएका हुन् । पहिलो लटमा तीन वटा र बाँकी ३७ वटा बस साउन महिनाभित्रै आउने र दशैंसम्ममा काठमाडौंको सडकमा गुडाउने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिनुभयो ।
उक्त बस कम्पनीसँग साझाले प्रति बस डेढ करोड रुपैयाम किनेको हो । बसमा हाललाई २५ सीट र सो भन्दा बढी क्षमताका बसले सेवा थालेका छन् । बस अपाङ्ग चढ्न मिल्ने ¥याम्प, वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामरा जस्ता सुविधा रहेका छन् ।
यातायाले बसको लागि आवश्यक चार्जिङ स्टेशनका लागि सरकारले जग्गा उपलब्ध गराउने विश्वास लिएको छ ।
Categorized in राष्ट्रिय