सकिमना पुन्ही मनाइयो
SamacharDesk – राम डंगोल | २०८१ मङ्सिर १, शनिबार
हरेक वर्ष जस्तै यो वर्ष पनि कार्तिक शुक्ल पुर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवाः समुदायले सकिमिला पुन्हीको रुपमा मनाएको छ ।
सकिमिला पूर्णिमा नेपाल संवतपछिको पहिलो पूर्णिमाको रुपमा उपत्यकाका नेवारहरुले मनाउने पहिलो चाड हो । सकि भन्नाले पिँडालु र मिला भन्नाले चन्द्रमा भन्ने बुझिन्छ।
पर्वका अवसरमा नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाएका छन् । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ, बकुला, सिम्पलगायतका गेडागुडीले आकृति बनाउनेलाई हलिमलि ब्वयेगु भन्ने गरिन्छ ।
यसरी बनाइने आकृतिमा पिँडालु, सखरखण्ड, फलफूल र विभिन्न प्रकारका रोटीले सजाइन्छ । काठमाण्डौंको असन, मरू, मंगलबजार, सुम्बहाल लगायतका क्षेत्रमा सकिमिला पुन्हिको अवसरमा विभिन्न भुटेका गेडागुडीबाट विभिन्न आकृति बनाएर प्रदर्शन गरिएको छ ।
दाफा भजन सकिएपछि गेडागुडी तथा फलफूल सबै एकै ठाउँमा जम्मा पारी प्रसादका रुपमा घर-घरमा वितरण गर्ने चलन छ । कृषिमा आधारित सकिमिला पुन्ही सांस्कृतिक चाडका रुपमा आपसी सद्भावका साथ मनाइने गरिन्छ । विशेषगरी यो चाडमा भुटेको गेडागुडीहरुको छुट्टै महत्व रहेको ।
यो चाड अरु चाड जतिको ठूलो चाडको रुपमा नमनाए पनि बौद्ध धर्मावलम्बीहरुका लागि भने यो ठूलो चाड हो । यस दिन बहाः बही, चैत्य र मन्दिर अगाडि मकै, भटमास, केराउ, बकुला लगायतका विभिन्न थरीका गेडागुडी भुटेर त्यसबाट विभिन्न देवीदउता, कलश, मन्दिर र चैत्यको कलात्मक चित्र बनाएर पूजापाठ गर्ने गर्दछन् ।
अन्नबालीहरु भित्र्याए पछिको अलिकती फुर्सदको समयमा मनाइने यस पर्वलाई चख अर्थात् सानो पर्वको रुपमा लिइन्छ भने यसमा घर९परिवार मात्र सम्मिलित भइ मनाउने गरिन्छ। बौद्ध धमावलम्विहरुले विपश्वी बुद्ध र अभिताभ बुद्धको पूजा गरेर अन्न दान गर्ने परम्परा छ ।
यो चाड मनाउनुको मुख्य उद्देश्य भनेको हामी स्वस्थ हुन प्रकृतिबाट प्राप्त मौसम अनुसारको अन्न तथा फलपूmलहरु ग्रहण गर्नुपर्दछ जसबाट मानिसहरु स्वस्थ हुन चाहिने भिटामिनहरु प्राप्त होस् भन्ने हेतुले मनाउने गरेको पाइन्छ ।
यस अलावा हामीले धार्मिक मान्यता अनुसार पर्व मनाएता पनि, यस भित्र विभिन्न जीवन दर्शनका पक्षहरु पाइन्छ। समय अनुसारको अन्न खाएर पर्व मनाउनुले जीवनलाई सहज रुपमा अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन्छ।
हलिमली ब्वयेगु भनी विभिन्न अन्नहरु द्वारा कलाकृतिहरु देखाउनुले हामीभित्र लुकेको सीप, कौशल र जाँगरिलोपनलाई उजागर गर्छ।
नयाँ अन्नबाली भित्र्याएपछीको खाली हुने केही समयमा यसरी हलिमली ब्वये गर्दै, मठमन्दिरमा विभिन्न ताल, राग र सुरमा संगीतमा मुग्ध भएर मनाउने यस पर्वले, आफुसँग भएको हरेक कुराको लागि कृतज्ञ हुनपर्छ भनी सिकाउँछ भने, आफू काममा जति व्यस्त भएपनी संस्कृती, संस्कार तथा जीवनको मूल आधारलाई बिर्सनु हुँदैन भन्ने गहिरो सन्देश पनि दिएको पाइन्छ ।
Categorized in संस्कृति