arin enterprises

टेलिभिजनले सबैलाई फेरी एउटै मालामा गाँसोस्

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ५, शुक्रबार

आज नोभेम्बरको २१ तारीख अर्थात विश्व टेलिभिजन दिवस । आजको दिनमा नयाँ पुस्तालाई टिभिको खासै महत्व राख्दैन होला । स्मार्ट फोनको जमानामा टिभि हेर्ने कुनै चासो नै छैन होला ।

तर कुनै जमाना थियो, यहि टिभि सेट एउटाले पुरै गाउँ, टोल समाजलाई एउटा सुत्रमा बाँधेर एकतावद्ध बनाइराख्थ्यो । आज विश्व टेलिभिजन दिवसको अवसरमा आउनुहोस्, नेपालमा टिभिको विकासक्रमका पानालाई एक पटक पल्टाइ हेरौं ।

सर्वप्रथम टिभिको आविष्कार कसरी भयो भन्ने कुरा खोतलौं । टेलिभिजन, अङ्ग्रेजीमा Television र छोटकरीमा TV । यसलाई दृश्य पर्दा भएको एक उपकरण भन्न सकिन्छ, जसले प्रसारण गरिएको सङ्केतलाई दृश्य र ध्वनीमा परिवर्तन गर्छ ।

टेलिभिजन शब्द युनानी भाषाको ‘टेलि’ र अंग्रेजी शब्द ‘भिजन’को संयोजनबाट बनेको छ । युनानी शब्द टेलिको अर्थ टाढा र अंग्रेजी शब्द भिजनको अर्थ दृश्य वा हेर्नु हुन्छ ।

नेपाली भाषामा दुरदर्शण वा दृष्यवाहिनी भन्ने नाम दिएतापनि समाजले यो शब्दलाई स्वीकारेको देखिएन । बरु अंग्रेजी शब्द टिभिलाई नै नेपालीकरण गरेर स्वीकारे भन्दा हुन्छ ।

टेलिभिजनको आविष्कार

टेलिभिजनको आविष्कारको रुपमा धेरै वैज्ञानिकको नाम जोडिएको छ । सन् १८८४ मा जर्मनका निप्को भन्ने वैज्ञानिकले ‘क्याथर्ड रे’ भन्ने एक किसिमको स्क्रिनको आविष्कार गरेका थिए । यसमा तारबाट किरणहरूसहित चित्र पठाउने सकिन्थ्यो ।

त्यस्तै सन् १९२३ मा भ्लादिमिर जोरकिनले आरकोनोस्कोप ट्यूबको आविष्कार गरेपछि उनीबाटै तस्बीरको आविष्कार भयो । सन् १९२६ मा इलेक्ट्रीकल इन्जिनियर जोन लोगी बेयर्डले संसारकै पहिलो यान्त्रिक (मेकानिकल) टेलिभिजन प्रविधि प्रस्तुत गरे ।

सन् १९३० को दशकमा विश्वमा टेलिभिजन प्रसारण आरम्भ भएको मानिन्छ । बेलायतमा बीबीसीले सन् १९३६ बाट नियमित टेलिभिजन प्रसारण आरम्भ गरेको थियो । अमेरिकामा पनि सन् १९३६ मै नेशनल ब्रोडकास्ट टेलिभिजनको स्थापना भएको थियो ।

नेपालमा टेलिभिजनको प्रवेश

नेपालमा पहिलोपटक २०४१ माघ १७ गते अर्थात् सन् १९८५ जनवरी ३० मा नेपाल टेलिभिजनको स्थापना भएको थियो । त्यहि समयबाट नेपालमा टेलिभिजन सेट भित्रियो भन्दा हुन्छ ।

त्यो एउटा समय थियो, जुन समयमा श्याम श्वेत अर्थात ब्ल्याक एन्ड ह्वाइट टेलिभजन सेटमा नेपाल टेलिभिजनको पर्दाबाट रामायण वा महाभारत प्रसारण हुँदा एकै घरमा पुरै टोल जम्मा हुने गर्थे ।

कुनै जमानामा १४ इन्चको एउटा व्ल्याक एन्ड ह्वाइट टिभि पनि आर्थिक हिसाबबाट धेरैको लागि पहुँचभन्दा माथि निकै महङ्गो लाग्थ्यो र एउटा टोलमा एउटा टिभि पनि मुश्किलले नै हुन्थ्यो ।

त्यस्तो अवस्थामा कुनै एउटा घरमा टिभि आउने वित्तिकै टोलभरीका र टोल वरपरका मान्छेहरु त्यहि घरमा भेला भएर टिभि हेर्ने गर्थे । कुनै कुनै घरमा त मान्छेहरुको भार थेग्न नसकेर दलिन नै भाँचिएको घटनासम्म पनि भएका छन् ।

पछि फिल्म हेर्ने डेक (भिसिआर) आएपछि त डेक भएको घरमा छिमेकी नातेदारहरु झन भिडियो क्यासेट लिएर फिल्म हेर्न डेक भएको घर पुग्थे ।

अझ पछि हुँदै घरको कोठै पिच्छे टिभि देखिन थाल्यो । त्यो समयमा भने एउटा परिवारलाई टिभिले नै अलग अलग कोठामा बाँडिदियो

यसरी एउटा समय थियो, टिभि र डेकले पुरै गाउँ, टोल, समाजलाई बाँधेको थियो । पछि हुँदै गएर घरै पिच्छे टिभि हुन थाल्यो ।

यति बेलासम्म त पुरै टोल नभएपनि कम से कम टिभि हेर्ने समयमा पुरै परिवार एक ठाउँमा बस्ने, कुराकानी गर्ने गर्थे । अझ पछि हुँदै घरको कोठै पिच्छे टिभि देखिन थाल्यो । त्यो समयमा भने एउटा परिवारलाई टिभिले नै अलग अलग कोठामा बाँडिदियो ।

प्रविधिको विकाससँगै रंगीन टिभि पछि प्लाज्मा टिभि, थ्रीडी टिभि, एलसिडि टिभि, एलईडी टिभि हुँदै अचेल स्मार्ट टिभिको जमाना छ ।

नेपाल टेलिभिजन बाहेक अरु विकल्प नै नभएको अवस्थाबाट विभिन्न विदेशीको साथै सय भन्दा बढि नेपाली च्यानलहरु प्रसारणमा छन् ।

टिभिमा पनि विभिन्न स्वदेशी साथै विदेशी च्यानलहरुमा आउने कार्यक्रम हेर्ने मात्र नभई, विभिन्न सामाजिक संजालहरु चलाउन सकिने अवस्था बनिसक्यो ।

यति मात्र होइन, स्मार्ट फोनमार्फत टिभि सेट हातहातमा पुगिसक्यो । टिभि त हात हातमा आइपुग्यो तर, सुरुमा पुरै गाउँलाई एउटै मालामा उनेको टिभि सेटले नै आजको दिनमा सबैलाई एक्लो बनाइदिएको छ ।

सँगै हुँदा पनि हातमा मोबाइल सेट लिएर बस्ने तर सँगै बसेका साथीभाई, परिवारसँग एक शब्द कुरा गर्ने अवस्था देखिएन ।

बगेको खोला र वितेको समय त फर्किन्न तर, विश्व टेलिभिजन दिवसको अवसरमा फेरी पनि यहि टिभिले सबैलाई एक पटक पुरानै समयमा जस्तै एउटै मालामा बाँध्ने अवस्था ल्याओस् भन्ने कामना छ । 

Categorized in समाज