आज आठौं संविधान दिवस
SamacharDesk | २०७९ आश्विन ३, सोमबार
आज आठौं संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन ।
तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । उक्त संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो ।
नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भईसकेका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाले पहिलो कार्यकाल पूरा गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचन हुने तयारी शुरु भईसकेको छ । यस बीचमा संविधानका केही बूँदाहरु संशोधन गरिएको छ । तर संविधान कार्यान्वयनका क्रममा आइपरेका अप्ठेराहरु सर्वोच्च अदालतमा पुग्दा शासनमा पनि न्यायालय हावी हुदै गएको छ ।
नयाँ संविधान अनुसार गठन भएको पहिलो प्रतिनिधिसभा दुई दुई पटक भङ्ग हुनु र त्यसको पुनस्थापनाका क्रममा सर्वोच्च अदालतले देखाएको सक्रियताले शासनमा न्यायिक प्रभाव बढाएको छ ।
त्यसमाथि प्रतिनिधिसभाको अन्तिम दिनसम्मै सभाको कार्यकाल कहिलेसम्म भन्ने अन्योल पनि देखियो । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग प्रस्ताव अलपत्र परेपछि उत्पन्न अन्योलले संविधानमा रहेका त्रुटीपूर्ण व्यवस्थालाई उजागर गरेको छ ।
अर्कोतर्फ संविधानसभाबाट संविधान बनेपछि मुलुकमा शासकीय सुशासन, समृद्धि र अमनचयन कायम हुने जुन अपेक्षा गरिएको थियो त्यो पूरा नहुँदा जनसाधारणमा भने निराशा उत्पन्न भएको छ ।
संविधान दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ भने टुँडिखेलमा विशेष समारोह आयोजना गरिंदै छ ।
Categorized in राष्ट्रिय