एउटै नम्बरका चार वटा चोरीका मोटरसाइकल बरामद
SamacharDesk | २०८१ भाद्र २१, शुक्रबार
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एउटै नम्बरका पाँचवटा मोटरसाइकल फेला पारेको छ ।
काठमाडौँ महानगरपालिका– ३१ स्थित मध्य बानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि उक्त कुरा सार्वजनिक भएको हो ।
मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिले आफ्नो सवारीको नम्बरलाई अरु चार वटा चोरीको बाइकमा प्रयोग गरेको खुलेको छ । त्यसमध्ये दुईवटा बुलेट मोटरसाइकल छन् ।
ट्राफिक प्रहरीले से ७ प ८५६२ नम्बरको बुलेट बाइक चलाइरहेका अछामका २८ वर्षीय हिमाल खत्रीलाई बिहीबार मध्य बानेश्वरबाट नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनको यो बाइक नेपालमा दर्ता नै नभएको खुल्यो ।
अनुसन्धानकै क्रममा से ७ प ८५६२ नम्बर प्लेट राखी वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको ३५० सिसिको खैरो रंगको बुलेट मोटरसाईकल, वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको गाडा निलो रंगको १५० सिसिको एफ–जेड–एस मोटरसाइकल, बास्तबिक नम्बर बा–प्र–०२–०२२ प ५०७८ भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसिको मोटरसाइकलहरु उपत्यकामा गुडिरहेको अनुन्धानबाट खुलेको जनाएको छ ।
थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाईकल सहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकल सहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको काठमाडौ उपत्यका ट्राफिक प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।
काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरीएका सवारी साधनहरुलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरु माथी बिशेष निग्रानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिदै आएको छ ।
Categorized in अपराध