arin enterprises

संसदको हिउँदे अधिवेशन आजबाट सुरु

SamacharDesk | २०८० माघ २२, सोमबार

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

राष्ट्रपतिले आह्वान गरेअनुसार आज अपरान्ह ४ बजे हिउँदे अधिवेशनको पहिलो बैठक बस्दैछ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुले आज बोल्ने छैनन् । आज पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ ।

आगामी २४ गतेको बैठकमा सम्बोधन गर्ने तयारी सचिवालयले गरेको छ । यद्यपि संसद बैठकको कार्यसूची भने कार्य व्यवस्था परामर्श समितिको बैठकले तय गर्ने छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व –पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नुहुनेछ । 

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश लगायत झण्डै ४० वटा विधेयक सदनमा पेस गर्ने कार्यसूचि छ ।

यसैबीच आईतवार संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताउनु भयो ।

उहाँले पारित गर्नुमात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले संसद क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताउनु भयो ।

उहाँले प्रिबजेट छलफलका लागि कानूनी प्रवन्ध अध्यादेशमाफर्त आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताउनु भयो ।

Categorized in राष्ट्रिय