ब्लोदानमा फेरी पनि सानुबाकुकै नेतृत्व
SamacharDesk – बिराज | २०७८ मङ्सिर ६, सोमबार

स्वयंसेवी रक्तदाताहरुको संगठन ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) मा फेरी पनि ईं सानु बाबु प्रजापतिले नेतृत्व गर्ने भएका छन् ।
काठमाडौंमा सम्पन्न ब्लोदानको २४औं केन्द्रीय साधारण सभा तथा १०औं अधिवेशनले प्रजापतिलाई फेरी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
ब्लोदानको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा राजेश श्रेष्ठ र उज्वल के.सी. चुनिएका छन् भने महासचिवको जिम्मेवारी केशब महर्जनले पाएका छन् ।
कोषाध्यक्षमा मचाकाजी महर्जन निर्वाचित हुँदा सचिवमा विष्णुराज श्रेष्ठ र पुरुषोत्तम खत्री पनि सर्वसम्मत चुनिएका छन् ।
त्यसैगरी सदस्यहरुमा विनोद तुलाधर, किशोरराज वन्त, शंकर महर्जन, नारायण बहादुर बासुकला, बालकुष्ण श्रेष्ठ, भोला नाथ पाठक, हसिना शाक्य, ठाकुरदास श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, रवि नेपाल, राधिका श्रेष्ठ, राधाकुमारी श्रेष्ठ, रोशना राजवंशी र कविन्द्र रिमाल रहेका छन् ।
यस अघि विभिन्न सम्मानहरुको साथमा सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
सभामा रक्तसंचार सेवामा पुर्याएको योगदानलाई कदर गर्दै परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका रक्तसंचार सेवा प्रमुख परशुराम दाहाललाई सम्मान गरिएको थियो ।
त्यसैगरी ब्लोदानका सल्लाहकार तथा पूर्व उपाध्यक्ष रमेशध्वज बस्नेत, ब्लोदानका केन्द्रीय सदस्य शंकर महर्जनलाई ब्लोदान अफ दि इयरबाट सम्मान गरिएको थियो ।
साथमा निरन्तररुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका विभिन्न संघसंस्था र रक्तदानमा योगदान दिनुहुने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
सभामा बोल्दै मिडिया एलायन्स नेपालका अध्यक्ष तथा एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष एवं ब्लोदानका संरक्षक भाष्करराज राजकणिकारले ब्लोदानले रक्तदान जस्तो मानवीय कार्यमा तीन दशकदेखि निरन्तररुपमा दिँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।
शुभकामना मन्तव्यको क्रममा नेपाल रेडक्रश सोसाइटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले नेपाल रेडक्रसले गर्दै आएको महत्वपूर्ण कार्यहरुमध्ये रक्तसंचार सेवा अग्रपंक्तिमा रहेको बताउनुभयो ।
ब्लोदानकी संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले रक्तदानको क्षेत्रमा महिलाहरुलाई अझ सक्रियरुपमा अगाडि बढाउन अक्षय कोषको लागि एक लाख एक हजार रुपैयाँ सहयोग गर्नुभयो ।
ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले तत्कालिन समयमा पेशेवर रक्तदाताहरु रहेको अवस्थामा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी गराई ब्लोदानको स्थापना गर्न योगदान दिनुहुने स्व. शरद कसाःलाई सम्झिनुभयो ।
कार्यक्रममा ब्लोदान बुलेटिनको पनि लोकार्पण गरिएको थियो ।
Categorized in समाज