‘शब्द विम्बमा सत्यमोहन’ लोकार्पण
SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ २७, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवम् साहित्यकारले ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति लोकार्पण गर्नुभएको छ ।
सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सँगालो उक्त कृति आज सार्वजनिक गरिएको हो । भूँडीपुराण प्रकाशनद्वारा शताब्दी पुरुष जोशीको व्यक्तित्वमा आधारित कृति प्रकाशन ल्याएको हो ।
शनिबार आयोजित कार्यक्रममा पत्रकार गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित पुस्तकमा लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ, समाचार र कविता खण्डमा उहाँसम्बन्धी लेखक, साहित्यकार र पत्रकारका लेख समेटिएका छन् ।
पुस्तकमा जोशीका केही मुख्य कृति र तस्बिर पनि समावेश गरिएका छन् । कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले विलक्षण प्रतिभाशाली जोशी नेपाली समाजले श्रद्धा र सम्मान गरेको अपवाद व्यक्तिका रुपमा रहनुभएको बताउनुभयो ।
पत्रकार श्रीओम रोदनले लवाइखुवाई र हिँडाइसहित सबैले सिक्नुपर्ने सादगी जीवनशैली व्यतीत गर्नुभएका संस्कृतिविद् जोशी जीवित सङ्ग्रहालय र सम्पदाका रुपमा सबैको प्रेरक बन्न सफल हुनुभएको धारणा राख्नुभयो ।
पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सङ्घर्षले सत्यमोहनलाई र सत्यमोहनले सबैलाई सिकाएको सङ्घर्षको चर्चा गर्दै जोशी जिउँदो मानव सम्पदा भएको बताउनुभयो । उहाँले जोशीको सङ्घर्ष, हक्की स्वभावलगायत विषयमा उहाँको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।
आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, सम्पादकीय खण्डमा सात, तीन अन्तर्वार्ता, परिसिस्टाङ्क १७, समाचार १२ र कवितामा तीन सिर्जना समावेश छन् ।
चार सय आठ पृष्ठको उक्त कृतिको मूल्य रु पाँच सय ९० रहेको छ । संस्कृतिविद् जोशीको २०७९ असोज ३ गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो ।
Categorized in पेजथ्री