arin enterprises

घिमिरे सभामुखमा निर्वाचित

SamacharDesk | २०७९ माघ ५, बिहिबार

प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिनुभएको हो । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत पर्यो ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने हुनुहुन्थ्यो भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहनुभएको थियो ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

सभामुखमा विजयी भएपश्चात घिमिरेले छोटो प्रतिक्रिया दिंदै विगत जेजस्तो भए पनि अबका दिनमा दलीय छायाबाट मुक्त भएर तटस्थ भूमिका निर्वाह गर्ने बताए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उहाँलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । २०१५ सालको पहिलो संसद र २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि बनेका संसद्को इतिहास अनुसार घिमिरे नेपालका नवौं सभामुख हुनु हुन्छ ।

२०१५ सालको पहिलो संसदमा कृष्णप्रसाद भट्टराई सभामुख निर्वाचित हुनुभएको थियो  । २०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसददेखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रुपान्तरित संसद्मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख भएका थिए ।

Categorized in राजनीति
SKIP THIS maharjan complex bumper adv