arin enterprises

साउन १५, खीर दिवस मनाईंदै

SamacharDesk – Ram Dangol | २०८१ श्रावण १५, मंगलबार

आज साउन १५, भाषा, संस्कृति, चाडवाडले भरिएको देश नेपालमा हरेक चाडबाडमा विभिन्न प्रकार खानेकुरा खाने प्रचलन रहेको छ ।

नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । यो दिन प्राय सबै नेपालीले घर घरमा खीर पकाएर खाने गर्दछन् ।

आजको दिनलाई गत वर्षदे िनै राष्ट्रिय दुग्ध विकास बोर्डले खीर दिवसकै रुपमा मनाईंदै आएको छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ ।

खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । यो सबैको प्रिय भोजन हुनुका साथसाथै खीरमा सांस्कृतिक तथा औषधीय गुणयुक्त छ । खीर खाँदा रोगसँग लड्नसक्ने क्षमतामा वृद्धि हुने र शरीरलाई तन्दुरुस्त राख्नले मद्दत राख्ने बताउँछन् ।

देवता र पितृको काम गर्दा पनि खीर बनाउने भएकोले सांस्कृति रुपमा पनि खीरलाई पवित्र भोजनको रुपमा लिईन्छ । वर्षा सुरु भएदेखि नै खेतीपातीमा व्यस्त हुने किसानलाई पुनर्जागृत गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ ।

चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकारबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ । खिर, दूध, घिउ, चामल, गुड,वा चिनी हालेर पकाइने गरिन्छ । दूधमा प्रशस्त मात्रमा प्रोटिन र क्याल्सियम पाइन्छ र चामलमा कार्बोहाइड्रेट पाइन्छ ।

यसरी पकाएको खाद्यमा प्रशस्त मात्रमा क्यालोरी पाइन्छ । जसले शरीरमा ऊर्जा प्रदान गर्ने गर्छ । प्रोटिनले शरीरका मांसपेशी र हड्डी बलियो बनाउन मद्दत पु¥याउँदछ ।

खीर बनाउँदा राखिने ल्वाङ, घिऊ, काजु, नरिवल, दालचिनी, मरिच, केसर, दाख, पेस्टा आदिमा औषधीय गुण हुने भएकोले यसले शरीरलाई लाभदायक हुने देखिन्छ ।

खीरमा राख्ने ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वासलाई ठीक पार्दछ । दलचिनीले फोक्सोलाई राम्रो गर्दछ भने नरिवलले अम्लपित्तनाशक तथा हृदयघात हुनबाट जोगाउने गर्दछ ।

यसका साथ खीरले कफ, पित्त, वायु जस्तालाई सन्तुलित राख्ने गर्दछ । श्रावण महिनामा खीर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिना भनेको हिन्दू धर्मावलम्बीहरुको शिव पुजनको महिना भएकोले पनि यो महिनाभरि माछा मासु नखाने चलन छ ।

यस्तो अवस्थामा शरीरलाई चुस्त, तन्दुरुस्त र रोगप्रतिरोधात्मक बनाइराख्न पनि खीर खाने चलन रहेको बताइन्छ । असार १५ मा दहिचिउरा खाइन्छ भने त्यसको एक महिनापछि खीर खाने विशेष सांस्कृतिक महत्व रहेको छ ।

नेवारमा समाजमा त यस्ता परिकारको चलन अझ बढि छ । सिथिनखःमा मासको वः, हरिशयनी एकादशीमा ग्वार्चा, गुंपुन्हिको दिन क्वाति, मंसिर पुर्णिमामा यःमरि आदि खाने चलन नेवार समुदायमा छ ।

विभिन्न खाद्य पदार्थ वा परिकारहरुसँग जोडिएका यी चलनहरु हेर्दा नेपालीहरु समय अनुसार शरीरलाई आवश्यक खाद्य पदार्थ खान जानेको देखिन्छ ।

Categorized in संस्कृति