ऋतु परिवर्तनको सूचक नेवाः ऋतु संगीत
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ चैत्र १४, सोमबार

नेवार समुदाय संस्कृति सम्पदाको साथमा कलाकारितामा पनि निकै सम्पन्न मानिन्छ । विज्ञहरुले यस समुदायको गीत संगीत परम्परा निकै अर्थपूर्ण र वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ ।
वरिष्ठ संगीतज्ञ रामकृष्ण दुवाल त ऋतु परिवर्तनको सूचक नै संगीतलाई मान्दछन् । नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्सको आयोजनामा कीर्तिपुरमा सम्पन्न नेपालभाषा साहित्य नखःमा उनले यस्तो बताएका हुन् ।
नखःको पहिलो दिन शुक्रबार कीर्तिपुरको लायकू (दरवार क्षेत्र) मा गायक पवित्र कसाःसँगको अन्तरक्रियामा वरिष्ठ संगीतज्ञ दुवालले नेवार समुदायमा समय, मौसम हेरी गीत गाउने चलन रहेकाे र संगीतले नै ऋतु परिवर्तनको सूचना समेत दिने बताए ।
उनले भने, ‘बसन्त धुनले बसन्त ऋतु आगमनको आभाष दिलाउँछ, होलीया मेला बज्यो फागुको उमङ्ग छाउँछ, हाम्रो समाजमा संगीत र प्रकृतीको कस्तो सम्वन्ध छ हेर्नुस् ।’
उनले अझै थपे, ‘मालश्रीले दशैलाई स्वागत गर्छ, धनाश्री धुनसँगै तिहार भित्रिन्छ, अथवा असारको सिनाज्याकै गीत भनौं । हाम्रो हरेक पाइलासँग संगीत जोडिएको छ ।’
नखःको दोश्रो दिन शनिबार दुईवटा विषयवस्तुमा अन्तरक्रिया गरिएको थियो ।
शनिबार कीर्तिपुरको पाङ्गालाछिमा भएको कार्यक्रममा पत्रकार कल्पना महर्जनले ‘कीर्तिपुरको सांस्कृतिक सम्पदामा पर्यटकिय सम्भावना’ विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गरेकी थिइन् ।
सो अन्तरक्रियामा वरिष्ठ संस्कृतिविद् प्रयागमान प्रधान, कीर्तिपुर नगरपालिका वडा २ का अध्यक्ष रमेशमान डंगोल र नेवाः लहनाका अध्यक्ष राजमान मानवले आ–आफ्नो विचार राखेका थिए ।
त्यस्तै शनिबार नै वरिष्ठ पत्रकार साथै नखःका सह संयोजक सुरेश किरणले ‘नेपालभाषा पठनपाठनबाट साहित्यलाई टेवा’ विषयमा अन्तरक्रिया गरेका थिए ।
ललितपुर महानगरपालिका स्थानीय पाठ्यक्रम विकास समितिका सह संयोजक तुलसीलाल सिंह, काठमाडौं महानगरपालिका शहरि योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठ र कीर्तिपुर नगरपालिका शिक्षा समितिका सदस्य डा. बज्रमुनि बज्राचार्यसँग अन्तरक्रिया गरिएको थियो ।
दुई दिने नखःको क्रममा लक्ष्मीकुमार महर्जनको निर्देशनमा ‘दुघाः’ नाटक, लक्ष्मीकुमारकै निर्देशनमा प्रहसन ‘आः छु ले’ प्रस्तु गरिएको थियो भने रामकृष्ण खड्गीको प्रहसन ‘एमसिसि’ ले दर्शकलाई मनोरन्जन दिएको थियो ।
कीर्तिपुर नगरपालिका वडा १० का अध्यक्ष अमन महर्जनको स्ट्यान्ड अप कमेडी दर्शकको लागि बेग्लै खालको प्रस्तुति बनेको थियो ।
कीर्तिपुर आइडलका विजयी, सहभागीहरुको साथमा कीर्तिपुरका र नेवाः कला क्षेत्रका चर्चित गायक कलाकारहरुको प्रस्तुतिले पनि नखःको रौनक बढाएको थियो ।
साहित्य पाठको क्रममा नेपालभाषाका वरिष्ठ साथै युवा साहित्यकारहरुका बीच फुलको आँखामा फुलै संसार गीतका रचनाकार जनकवि दुर्गालाल श्रेष्ठसमेतले आफ्नो कविता सुनाएका थिए ।
यो पनि पढ्नुहोला : चौथो नेपालभाषा साहित्य सम्मेलन भव्यताका साथ सम्पन्न
Categorized in पेजथ्री