एसईई नतिजा सार्वजनिक
SamacharDesk | २०८१ आषाढ १४, बिहिबार

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
यो वर्ष कूल संख्या मध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार २७० जना थिए ।
जसअनुसार पुरुष १ लाख १४ हजार ४८ र महिला १ लाख २८ हजार २५७ जना गरी कुल २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण (एनजी) हुँदा बाँकी विद्यार्थी विभिन्न जीपीएसहित उत्तीर्ण भए । बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।
यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २।४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक लाख १५ हजार ८३४ विद्यार्थीले ग्रेड बृद्धि परीक्षा दिन पाउनेछन् ।
बोर्डले दुई विषयमा ‘एनजी’ आएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् भने बाँकीले अर्को वर्ष हुने परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
Categorized in राष्ट्रिय