रहेनन् वरिष्ठ साहित्यकार परशु
SamacharDesk – बिराज | २०८० चैत्र ६, मंगलबार

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । पी.आर. प्रधानले नामले समेत चिनिने वरिष्ठ साहित्यकार प्रधानको गए राति नयाँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।
स्वर्गीय प्रधानको सुपुत्र प्रतिक प्रधानले स्वर्गीय प्रधानको पार्थिव शरीरलाई आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग– २० मा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएका छन् ।
एक फेसबुक पोस्टमार्फत स्वर्गीय प्रधानका सुपुत्र प्रतिकले उनको अन्त्येष्टि आजै बिहान ९ः३० बजे पशुपति आर्यघाटमा गरिने जानकारी पनि दिएका छन् ।
८० वर्षीय प्रधानको जन्म वि.सं. २००० साल माघ ३० गते भोजपुरमा भएको थियो । वि.सं २०१४ सालमा भोजपुरको विद्योदय हाइस्कूलबाट एसएलसी उत्तीर्ण गरेका उनले नेपाली र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् ।
उनका सुपुत्र प्रतिक डिजिटल मिडिया सोसाईटीका अध्यक्ष साथै बा¥हखरी मिडियाका कार्यकारी अध्यक्ष र प्रधान सम्पादक समेत हुन् । स्वर्गीय प्रधानको परिवारमा उनकी धर्मपत्नी कल्पना प्रधानको साथमा दुई छोरा र दुई छोरी छन् ।
विशेषतः कथा र उपन्यास विधामा कलम चलाउँदै आएका उनको १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । वि.स. २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारीमा उनको पहिलो रचना ‘हाँसेका ती चन्द्रमा’ प्रकाशित भएको थियो ।
उनको ‘बक्ररेखा’, ‘फेरि आक्रमण’, ‘यौटा अर्को दन्त्यकथा’, ‘असम्बद्ध’, ‘समुद्रमा अस्ताउने सूर्य’, ‘यौटा क्रान्तिपुरुषको जन्म’, ‘द लिटिल बुद्ध इन टोकियो’, लगायतका कथासंग्रह प्रकाशित छन् ।
प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कार, रत्नश्री स्वर्ण पदक २०३१ लगायत विभिन्न पुरस्कार र सम्मानले सम्मानित गरिएको छ ।
Categorized in पेजथ्री