जेष्ठ नागरिकलाई सामुहिक म्हपूजा
SamacharDesk – के.के. मानन्धर | २०८० मङ्सिर १, शुक्रबार

काठमाडौंमा ४२ जना जेष्ठ नागरिकहरुलाई सामुहिक म्हपूजा गरिएको छ । नेपाल संवत् नयाँ वर्षको पहिलो दिन कछलाथ्व प्रतिपदा तिथिको दिन न्हापांगु पलाः नेवाः मिसा पुचःले सामुहिक म्हपूजा कार्यक्रम सम्पन्न गरेको हो ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको पुचःले प्रत्येक वर्ष जेष्ठ नागरिकहरुको म्हपूजा गर्दै आएको छ ।
प्रत्येक वर्षको म्हपूजा कार्यक्रममा ३५ जना जेष्ठ नागरिकहरुलाई सम्मिलित गराउँदै आएकोमा यो वर्ष संख्या थपेर ४२ जनाको म्हपूजा गरिएको पुचःले जनाएको छ ।
‘लकडाउन भएको सालमा तीन वर्ष गर्न सकेनौं । घरबाट निस्किन बन्देज लगाएको भएर मात्र ती वर्षका कार्यक्रम स्थगित भए, नत्र हरेक वर्ष कार्यक्रम गर्दै आएका छौं’ पुचःकी अध्यक्ष शिला सायमिले बताइन् ।
‘ज्याथजिथि मुनाः झी निभाः पाना’ भन्ने नारा दिएर क्वहिटी टोलको पुचःले यस वर्ष क्वहिटी बहालमा सामुहिक म्हपूजा कार्यक्रम सम्पन्न गरेको हो ।
नेवार समुदायमा प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन म्हपूजा गर्ने परम्परा छ । म्हपूजामा शरीर, मन, वचन एकाग्र गरेर सुस्वास्थ्यको कामना गर्दै आफ्ना प्रतिविम्बको रुपमा मण्डला बनाएर आफ्नै शरीरलाई पूजा गरिन्छ ।
पुचःले २०७२ सालदेखि डे कियरको रुपमा बाजेबज्यैहरु लक्षित गरेर विभिन्न खाले गतिविधि सञ्चालन गर्दै आएको छ ।
Categorized in समाज