गोरखा मिडियाले लिएको ऋणको जिम्मा लिन्न : पूर्वगृहमन्त्री लामिछाने
SamacharDesk | २०८१ भाद्र ७, शुक्रबार

सहकारी संस्थाको बचत रकम हिनामिना गरेको सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ ।
गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई शुक्रबार सिंहदरबार बसेको समितिले तत्कालिन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले बयान लिएको हो ।
बयानका क्रममा सभापति लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएका छन् ।
उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत स्वेट सेयर’ लिएको बयानको क्रममा बताएका हुन् । लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेको बयानका क्रममा बताएको जनाइएको छ ।
गोर्खा मिडियामा बिभिन्न सहकारीबाट गैरकानूनी रुपमा बचतकर्ताको रकम लगानी गरिएको बताइएको छ। यहि विषयलाई लिएर केहि महिना अघि सदनमा हंगामा भएपछि छानबिन समिति गठन गरिएको थियो।
गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगाएतका सहकारीबाट रकम सारिएको आरोप छ।
यसअघि गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसंग पनि बयान लिइएको छ ।
सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदले गत जेठ १५ गते एमाले सांसद थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको थियो ।
७ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे,एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान छन् ।
समितिको तीन महिने समयअवधि यही भदौ २३ गते सकिँदैछ ।
Categorized in राष्ट्रिय