arin enterprises

राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमूर्ति अमेरिकामा प्रतिस्थापन हुने

SamacharDesk – समाचारडेस्क | २०८० जेठ ८, सोमबार

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले अमेरिकाको मेरिल्याण्ड सहरस्थित बाल्टिमोरमा प्रतिस्थापन गर्न लागेको नेपाल संवत् प्रवर्तक शंखधर साख्वाःको प्रतिमूर्ति हस्तान्तरण गरेको छ ।

शनिबार प्रतिष्ठानको परिसरमा एक कार्यक्रमकाबीच साख्वाको उक्त प्रतिमूर्ति हस्तान्तरण गरिएको हो । प्रतिष्ठानको तर्फबाट मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बाल्टिमोरस्थित नेपाः कम्युनिटी युएसए (एनसीयु)का संरक्षक बैकुण्ठमान श्रेष्ठलाई शखंधर साख्वाःको प्रतिमूर्ति हस्तारण गरियो ।

प्रतिष्ठानले नेपाल सम्वत् प्रणेता एवं राष्ट्रिय विभूति शंखधर साख्वाः र नेपाल संवत्को प्रचारप्रसार विदेशमा पनि गर्ने उद्देश्यले मूर्ति हस्तान्तरण गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानले साख्वाःको प्रतिमूर्ति कम्युनिटी युएसएको अनुरोध अनुरुप हस्तान्तरण गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, निवर्तमान नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका भूतपूर्व अध्यक्षहरु मदनकृष्ण श्रेष्ठ, श्यामकृष्ण मानन्धर, चन्दनकृष्ण श्रेष्ठलगायतले शुभकामना दिनुका साथै आ–आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा एनसीयुका संरक्षक श्रेष्ठले प्रतिष्ठानका अध्यक्ष श्रेष्ठलाई धन्यवाद पत्र पनि हस्तान्तरण गरेको थियो । बाल्टिमोरमा प्रतिष्ठापन गर्ने शंखधरको उक्त प्रतिमूर्ति कलाकार धर्मराज शाक्यले बनाएको हो ।

ढुंगाबाट निर्मित उक्त मूर्तिलाई कलाकार लक्ष्मीकृष्ण प्रजापतिले फाइबर ग्लासले गालेका थिए ।  

Categorized in राष्ट्रिय