कलाकारहरु नभेटिकनै सुटिङ गरी बनाइयो लघु चलचित्र ‘लकडाउन’
SamacharDesk – विकाश | २०७७ बैशाख २५, बिहिबार

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वका धेरै मुलुकहरु अहिले लकडाउनको अवस्था छ । लकडाउनका कारण सबैको उद्योगधन्दा ठप्प रहँदा कला क्षेत्र पनि यसबाट अछुटो रहने कुरै भएन ।
नेपालमा पनि केहि छिटफुट श्रृजना बाहेक कला क्षेत्र ठप्प नै छ । संगीत क्षेत्रमा केही श्रृजनाहरु सार्वजनिक भएपनि चलचित्र क्षेत्र भने ठप्पै रहेको अवस्था छ ।
यस्तोमा कलाकारहरुले आआफ्नै घरमै छायाङ्कन गरी नेपालभाषाको लघु चलचित्र निर्माण गरेका छन् ।
म्हसिकाको ब्यानरमा नेपालभाषाको लघु चलचित्र लकडाउन ‘छेँय् हे बासं’ निर्माण गरेर युट्युबबाट सार्वजनिक गरिएको हो ।
जम्मा ३ मिनेट ३६ सेकेन्ड अवधिको यो लघु चलचित्रमा लेखन, दृश्य सम्पादनको साथमा निर्देशन सागर महर्जनको रहेको छ ।
छायाङ्कन भने कलाकारहरुले आआफ्नै घरबाट आफुसँग उपलब्ध श्रोत साधनको प्रयोग गरेर गरेका छन् ।
जम्मा चार जना कलाकारहरुले अभिनय गरेको यस लघु चलचित्रमा लकडाउनको अवस्थामा होम क्वारेन्टाइनमै बसेका एउटा परिवारबीचको सम्वादबाट सामाजिक सन्देश दिन खोजिएको छ ।
चलचित्रले लकडाउनको पूर्ण पालना गरेर संक्रमणको नियन्त्रण र रोकथाममा योगदान दिउँ भन्ने सन्देश दिन खोजेको छ ।
चलचित्रमा कलाकारहरु सुरज व्यन्जनकार, सजिना महर्जन, रजनी खड्गी र सिमोन महर्जनको भूमिका रहेको छ ।
यस चलचित्रमा परिवारका चार सदस्यबीचमा सम्वाद भइरहेको हुन्छ । तर पर्दा पछाडीको रोचक कथा यो छ कि यी कलाकारहरु सुटिङको दौरान भेटेकै छैनन् ।
आआफ्नै घरमा आआफ्नो डायलग छायाङ्कन गरी निर्देशकलाई पठाइयो र निर्देशक सागरले त्यसलाई सम्पादन गरी एउटै घर भित्र एउटा परिवारको कुराकानी जस्तो बनाइदिए ।
‘सबै जन घरमै बस्नुपर्दा आलस्यपन बढ्नुका साथै मनोरोग पनि हुने सम्भावना रहन्छ’ निर्देशक महर्जनले भने । ‘सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्नुका साथै सचेतना फैलाउने उद्देश्यले यो लघु चलचित्र निर्माण गरें ।’
अहिलेको अवस्थामा कला क्षेत्र र कलाकारले पनि समाजमा केही योगदान दिनुपर्ने परिकल्पनाबाटै यो चलचित्र निर्माण भएको सागर महर्जनले बताएका छन् ।
Categorized in पेजथ्री
