साउने संक्रान्ति तथा लुतो फाल्ने पर्व मनाईंदै
SamacharDesk | २०७९ श्रावण १, आइतबार

आज साउने सक्रान्ति । साउन महिनाको पहिलो दिन यो पर्व मनाइँदैछ ।
सौरमास अनुसार प्रत्येक वर्ष मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ ।
साउनको महिनामा बिबाहित वा अबिबाहित महिलाहरुले हातमा हरियो चुरा लगाउने साथै हरियो रंगको कपडा लगाउने र हातमा म्हेन्दीको मनमोहक शृंगार गर्ने गर्दछन । विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो भने हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ ।
हिन्दु धर्ममा महिलाले हरियो चुरापोते, हरियो कपडा र मेहन्दी लगाएमा बुध ग्रह प्रशन्न भई घरमा समृद्धि र शुभ हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । त्यसैले श्रावण शुक्ल पक्षको तृतीया तिथिको दिन हरियाली तीज पनि मनाइन्छ ।
हरियो रंगलाई श्रावण महिनामा प्राथमिकता दिन्छन् । बुध ग्रह हरियो रंगले खुशी हुने भएकाले महिलाहरुले हरियो चुरा र कपडा धारण गर्दछन् । जसले गर्दा अध्ययन र व्यापारिक कामको सफलता प्राप्त हुने पनि मान्यता रहेको छ। हरियो रंग बुध ग्रहको प्रतीकको रुपमा लिइन्छ ।
हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति गर्ने जनविश्वास रहेको छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।
हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन समेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । साउन महिनाभर आराध्य देव भगावन शिवलाई पुजिने महिना भएकोले देशभरका शिवका मन्दिर तथा शिवालयहरुमा भक्तजनहरुको घुँइँचो लाग्ने गर्दछ ।
विशेषगरी पशुपतिनाथ मन्दिर तथा वैतडीको विश्वनाथ धाममा केही वर्ष अगाडि विश्वनाथ ज्योर्तिलिङको स्थापना भएदेखि यस क्षेत्रमा भक्तजनहरुको निकै भीड लाग्ने गरेको छ ।
Categorized in राष्ट्रिय