arin enterprises

श्रीपञ्चमी धूमधामपूर्वक मनाईंदै

SamacharDesk – Ram Dangol | २०७९ माघ १२, बिहिबार

विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी आज श्रीपञ्चमी मनाईंदैछ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन यो पर्व मनाइने गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले आजको दिन माता सरस्वतीको पूजा गरी सानासाना बालबालिकाहरुलाई विद्यारम्भ गरिन्छ । सानासाना नानीहरुलाई आज अक्षर चिनाउने, लेखाउने गरियो भने चाँडो सिक्ने, सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।

आजको दिन विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

यसै अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण कार्यक्रम रहेको छ ।

वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने जनाइएको छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

Categorized in राष्ट्रिय