arin enterprises

प्रसिद्ध बाँसुरीवादक श्रीनिवासनको कन्सर्ट नेपालमा हुँदै

SamacharDesk – बिराज | २०७९ फाल्गुण २५, बिहिबार

अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त बांसुरी वादक अश्विन श्रीनिवासनले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यही आइतवार फागुन २८ का दिन काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा श्रीनिवासनले आफ्नो बाँसुरी कला प्रस्तुत गर्न लागेका हुन् ।

“नाद रंग – कलर्स अफ साउन्ड, नाम दिइएको सो कन्सर्टमा श्रीनिवासनलाई तबलामा प्रख्यात तबलावादक ओजस अढियाले साथ दिनेछन् ।

जयश्री संगीत समाजको आयोजनामा हुन लागेको कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनीता डंगोलको समेत उपस्थिती रहने बताइएको छ ।

कार्यक्रमको सुरुवात दाफा म्युजिकका विभिन्न नेवाः र शास्त्रीय बाजाहरू फ्यूजन गरिएको सामूहिक प्रस्तुतिबाट हुने बताइएको छ ।

नेपालको सांस्कृतिक परम्परा दाफा संगीतको संरक्षण एवं प्रवर्ध्नन गर्दै युवा पुस्तामा हस्तान्तरण गर्दै ब्यापक बनाउने उद्देश्यले यो प्रस्तुति समावेश गरिएको आयोजक समाजका अध्यक्ष लक्ष्मी डंगोलले बताइन् ।

काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको कार्यक्रमबाट संकलन हुने रकम संगीत विद्यार्थीहरूका लागि आवश्यकतानुसार छात्रवृत्ति प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

को हुने श्रीनिवासनः

दुई वर्षको उमेरमा भारतीय शास्त्रीय सङ्गीत सिक्न शुरु गरेका श्रीनिवासनको जन्म संगीत परिवारमै भएको हो ।

बाल्यवस्थादेखि नै सांगितिक माहौलमा हुर्केका उनले आफ्नी आमाबाट सितार सिक्न थालेका थिए । सात वर्षको उमेरमा भने उनको आकर्षण बाँसुरीतर्फ मोडियो ।

हाल मुम्बईको सबैभन्दा ब्यस्त बाँसुरी वादकको रुपमा चिचिने उनलाई विश्वका अन्य विभिन्न लोक वाद्य उपकरणहरूमा समेत दक्ष संगीतकारका रुपमा लिइन्छ ।

उनलाई साथ दिने तबला वादक ओजस अढिया सबैभन्दा कान्छा तबला वादकका रुपमा “द लिम्का बुक अफ रेकर्डस्”मा दर्ता भएका भारतीय शास्त्रीय संगीत क्षेत्रका तबला वादक हुन् ।

जयश्री संगीत समाजको बारेमाः

कार्यक्रमको आयोजक संस्था जयश्री संगीत समाजले यस अघि पनि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रत्येक दुई महिनामा “जुगलबन्दी” शास्त्रीय संगीत कन्सर्टको आयोजना गर्दै आएको समाजले यस अघि नेवा लिभिङ लेजेन्ड गायक भृगुराम श्रेष्ठको “माया रे रतन – भृगुराम श्रेष्ठ – लाइभ इन कन्सर्ट” २०१८, विरजु महाराजकी छात्रा कत्थक कलाकार शिखा खरेको प्रस्तुति “कत्थक रिदम्स एण्ड एक्सप्रेशन – २०१७”, पण्डित हरिप्रसाद चौरासिया लाइभ इन कन्सर्ट – २०१४, पोखरा एवं काठमाडौंमा “द मुड्स अफ मीड – सितार लाइभ इन कन्सर्ट – २०१३”, सरोदमा माएस्ट्रो डुएट्स – २०१२ को आयोजना गरिसकेको छ ।

Categorized in पेजथ्री