चलचित्रमा श्रीस्वस्थानी
SamacharDesk – विजयरत्न तुलाधर | २०७८ माघ १५, शनिबार

चलचित्र निर्माण हुने जुन सुकै देशमा त्यस देशका धार्मिक मान्यता र परम्परालाई चलचित्रको पर्दामा प्रस्तुत गर्ने चलन छ । हलिउड भनिने अमेरिकाका चलचित्रहरुमा इसाइ धर्मका पर्वतक येशुको कथामा आधारित चलचित्रहरु द टेनकमाण्डमेंट देखि द लास्ट टेम्पटेशन अफ क्राईस्ट जस्ता अनगिन्ति चलचित्रहरु बनेका छन् भने बलिउड भनिने हिन्दि चलचित्र क्षेत्रमा रामायण वा महाभारत लगायतका थुप्रै धार्मिक मान्यताका कथाहरुमा चलचित्रहरु र टिभि सिरियलहरु निर्माण हुँदै आएका छन् ।
चीनमा चीनका एक बौद्ध भिक्षु ह्वेन साङ्गले पवित्र बौद्ध धर्म ग्रन्थ त्रिपिटकको खोजिमा चीनबाट पश्चिमतिर गरेको यात्रामा आधारित कैयौं चलचित्र र टिभि सिरियल बनेका छन् । ती मध्ये “सि यउ ची” नामक एउटा टिभि सिरियल विश्व प्रसिद्द भएको छ ।
विश्वका पचासौं भाषामा स्वराङ्कन भएको यो सिरियल नेपालीमा समेत “पश्चिमतिरको यात्रा” शिर्षकमा प्रसारण भईसकेको छ । ह्वेन साङ्ग र उसङ्ग हिंड्ने एउटा चतुर बाँदरको दन्त्यकथालाई जोडेर चीनले हलिउडसङ्ग मिलेर “द मङ्कि किङ्ग” नाम गरेको चलचित्र बनाएको छ भने भारतसङ्ग मिलेर “सुयान चाङ्ग” नाम गरेको चलचित्र बनाएका छन् । यो “सुयान चाङ्ग” को पनि नेपाली अनुवाद भई प्रदर्शनमा आईसकेको छ ।
विश्वको चलचित्र जगतमा यसरी आआफ्नो धार्मिक मान्यताका कथाहरुलाई चलचित्रको पर्दामा प्रस्तुत गरेका धेरै उदाहरणहरु भेटिन्छ तर चलचित्र निर्माण थालनी गरेको करीब ७० वर्षको ईतिहास बोकेको नेपालको चलचित्र इतिहासमा पहिलो चलचित्र “सत्य हरिश्चन्द्र” नै धार्मिक कथा बोकेको चलचित्र भएतापनि धार्मिक मान्यताका कथा बोकेका चलचित्रहरु खासै बनेको पाईंदैन ।
बुद्ध धर्मका कथामा आधारित “चाण्डालिका”, “पटाचारा”, “कृषा गौतमी”, “सेरी बन्जा” जस्ता केही चलचित्रहरु नेपालभाषामा बनेर प्रदर्शनमा आईसकेका छन् भने “घोषक”र “कर्म” शिर्षकका प्रदर्शोन्मुख चलचित्रहरु पनि बुद्ध धर्ममा आधारित चलचित्रहरु हुन् ।
हिन्दू धर्माबलम्बीहरुको घरघरमा श्रीस्वस्थानीको कथा पुष शुक्ल पक्ष पुर्णिमादेखि माघ शुक्ल पक्ष पुर्णिमासम्म एक महिनासम्म कथा वाचन र श्रवण गरिने गर्दछ र श्रीस्वस्थानीको महात्म्यको जनजीवनमा ठूलो प्रभाव रहँदै आएको छ
बुद्ध धर्ममा आधारित “अंगुलिमाल” शिर्षकको एउटा टेलिफिल्म भने नेपाली भाषामा नै बनेको टेलिचलचित्रको रुपमा लिन सकिन्छ । यसरी बुद्ध धर्ममा आधारित केही चलचित्रहरु बाहेक नेपालमा बनेका धार्मिक चलचित्रहरुमा निर्माता उद्धव पौड्यालले निर्माण गर्नु भएको “जयबाबा पशुपतिनाथ” र “प्रेमपिण्ड” र “आदीकवि भानुभक्त” जस्ता ऐतिहासिक महत्व बोकेका चलचित्रहरु निर्देशन गर्नु भएका प्रसिद्द निर्देशक यादब खरेलको निर्देशनमा बनेको “श्रीस्वस्थानी” गरी जम्माजम्मी दुई वटा मात्र धार्मिक चलचित्र प्रदर्शनमा आएको स्थीति छ ।
श्रीस्वस्थानीको कथासंग माघ महिनाको गहिरो सम्बन्ध रहेको छ । हिन्दू धर्माबलम्बीहरुको घरघरमा श्रीस्वस्थानीको कथा पुष शुक्ल पक्ष पुर्णिमादेखि माघ शुक्ल पक्ष पुर्णिमासम्म एक महिनासम्म कथा वाचन र श्रवण गरिने गर्दछ र श्रीस्वस्थानीको महात्म्यको जनजीवनमा ठूलो प्रभाव रहँदै आएको छ ।
यसरी जनजीवनमा समेत गहिरो प्रभाव पार्दै आएको श्रीस्वस्थानी कथामा वर्णन गरिएको पवित्र धार्मिक स्थल काठमाण्डौंको शंखरापुर नगरपालिका अन्तर्गतको साँखुमा रहेको शालिनदि हो भने पौराणिक कालमा स्वर्गका अप्सराहरु र त्यतिबेला लावण्य देश भनिने साँखुका राजा गोमा ब्राम्हणीका पुत्र नवराज कि धर्मपत्नी चन्द्रवति गहिरो संकटमा पर्दा शालिनदीको किनारमा बसेर श्रीस्वस्थानीको कठिन ब्रत बसेको फल स्वरुप संकटबाट मुक्त भई आफ्ना पति राजा नवराजसंगको मिलन सुख भोग गर्न पाएको भनि वर्णन गरिएको छ ।
यही पौराणिक कथामा आधारित “श्रीस्वस्थानी” चलचित्र नै नेपालमा बनेको पहिलो र अहिलेसम्मको एक्लो शाश्त्रीय अर्थात पौराणिक कथामा आधारित धार्मिक चलचित्र हो भने “जय बाबा पशुपतिनाथ” हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ प्रतिको धार्मिक आस्थामा आधारित चलचित्र हो । नेपाली र हिन्दि भाषा गरी दुइ भाषामा निर्माण गरिएको यस चलचित्रका निर्माता उद्धब पौड्याल हुन् भने निर्देशन भने भारतका सतिश कुमारले गरेका हुन् ।
यो चलचित्रको कतिपय शुटिङ्ग भारतको गुजरात अवस्थित वृन्दावन स्टुडियो गरिएको थियो । “श्रीस्वस्थानी” चलचित्रको चर्चा गर्दा यसको सम्पूर्ण शुटिङ्ग नेपाल मै भएको थियो । यस चलचित्रको निर्देशन सुप्रसिद्द निर्देशक यादव खरेलले गर्नु भएको हो ।
माघ महिनामा वाचन गरिने र साँखुको शालिनदीमा बसिने श्रीस्वस्थानी ब्रत कथामा आधारित यस चलचित्रमा अभिनेत्री जल शाहले श्रीस्वस्थानी माताको भुमिका निर्वाह गर्नु भएको छ । यसमा महादेवको भुमिका अभिनेता राकेश खड्का, शिव ब्राम्हणको भुमिका उमेश मायालु, भगवान विष्णुको भुमिका रघु गौतम, पार्वतीको भुमिकामा अभिनेत्री पुजा चन्दलगायत हिउँबाला गौतम लगायतका कलाकारहरुले विभिन्न भुमिकामा अभिनय गर्नु भएका थिए ।
“श्रीस्वस्थानी” शिर्षकको यो चलचित्र बाहेक “तिलहरी” शिर्षकको एक मूलधारको चलचित्रमा पनि श्रीस्वस्थानी ब्रत कथाको महिमा वर्णन गरिएको छ । सन् १९७५ मा प्रदर्शित “जय सन्तोषी माँ” नामक हिन्दि चलचित्रबाट प्रभावित भई निर्माण गरिएको “तिलहरी” चलचित्रका निर्देशक बन्नी प्रधान र रेशराज आचार्य हुन् भने मौसमी मल्ल , भुवन के.सी. र कृष्टि के.सी.को प्रमुख भुमिका रहेको यस चलचित्रमा अभिनेत्री मौसमी मल्लले घरपरिवारबाट दुःख कष्ट व्यहोर्नु परेकी एक महिला पात्रको भुमिकामा अभिनय गर्नु भएको थियो ।
यसरी दुःखकष्टमा परेकी पात्रले श्रीस्वस्थानीको कठीन ब्रत बसेको फलस्वरुप दुःखकष्टबाट मुक्ति पाउने कथा यस “तिलहरी” चलचित्रमा देखाईएको छ । यो चलचित्रको “जयजय श्रीस्वस्थानी माता महिमा तिम्रो अपार” बोलको गीत अत्यन्त लोकप्रिय धएको थियो भने अद्यापि श्रीस्वस्थानी कथा वाचन गर्ने र ब्रत बस्ने महिनामा यो गीत बजाईँदै आईरहेको पाईन्छ ।
‘जय सन्तोषी माँ’बाट प्रभावित एक अर्को नेपाली चलचित्र “महामाया” पनि हो । बाघ निर्देशकका रुपमा ख्यातिप्राप्त प्रकाश थापाले निर्देशन गर्नु भएको “महामाया” चलचित्रमा अभिनेत्रीहरु गौरी मल्ल र मिथिला शर्माले दुःखकष्ट व्यहोर्नु परेका नारीहरुको भुमिका निर्वाह गर्नु भएको छ भने महामाया देवीको ब्रत बसेको परिणाम स्वरुप दुःखकष्टबाट मुक्ति पाउने देखाईएको छ ।
यी चलचित्रहरुको अलावा गत वर्ष युट्युबमा “श्रीस्वस्थानी महिमा” शिर्षकको एउटा चलचित्र पनि प्रकाशमा आएको छ । सञ्चार प्रविधीको विकास संगसंगै अहिले युट्युब सञ्चारको एक प्रभावशाली माध्यम बनेको छ भने यस्तो प्रभावशाली माध्यममा राखिएको “श्रीस्वस्थानी महिमा” चलचित्र करीब चार घण्टाको रहेको छ । रेशम सापकोटाको परिकल्पना र निर्देशनमा बनेको यस युट्युब चलचित्रमा रेशम सापकोटा स्वयंले महादेव लगायतका केही भुमिकामा अभिनय गर्नु भएको छ ।
कथा वाचनको शैलीमा निर्माण गरिएको यस युट्युब चलचित्रमा रेशम सापकोटा स्वयंले शसक्त ढङ्गमा कथा वाचन गर्नु भएको छ भने चलचित्रलाई श्रृंगार्न गीत संगीत र नृत्यको सहारा लिईएको छ । यसका साथसाथै कथा वाचन गर्दै जाँदा कथालाई कथामा वर्णन गरिएको दृश्यको माध्यमबाट प्रस्तुत गरिएको छ ।
चलचित्र भनेको श्रव्यदृश्यको माध्यमबाट प्रस्तुत गरिने कथा हो । त्यसैले यसमा कथालाई सकेसम्म श्रव्यदृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ । यो चलचित्र पुरै हेर्दा करीब चार घण्टाको रहेको छ भने यसलाई विभिन्न खण्डमा विभक्त गरी पनि प्रस्तुत गरिएको पाईन्छ ।
करीब आधा आधा घण्टाका विभिन्न भागहरुमा महादेवको जालन्धर युद्ध , गोमालाई श्राप,स्वस्थानीको प्रसाद,लुटे विष्णुले गोमाको स्वस्थानी ब्रत लगायतका कथाहरुलाई छुट्टाछुट्टै पनि पनि राखिएको छ । तरेली सङ्गित कुञ्जको युट्युबमा राखिएको यो “श्रीस्वस्थानी महिमा” चलचित्रलाई यो धर्को कोरिरहँदा सम्ममाकरीब तीनलाख पैतीस हजारभन्दा दर्शकले अवलोकन गरीसकेका छन् ।
श्रीस्वस्थानी ब्रत कथा वाचन कै शैलीमा प्रस्तुत गरिएको यस चलचित्रको निर्माताका रुपमा मीरा सापकोटा रहनु भएको छ भने यस चलचित्रमा नेपाली चलचित्र जगतका लोकप्रिय कलाकार लोकनाथ अधिकारीको पनि एक प्रमुख भुमिका रहेको छ भने रेशम सापकोटाको साथमा यसमा चीरन अधिकारी,बसन्ती भट्ट, सपना वलि,नन्दा बस्याल,पवित्रा रिजाल,कुमार बोगटी,अर्जुन कँडेल,रोशनी सापकोटा,कुमार बोगटी , चन्दा बोगटी लगायतका धेरै कलाकारहरुले गर्नु भएको छ ।
प्रविधीको विकाससंगसंगै श्रव्यदृश्यको विशेष प्रभाव(भिएफएक्स) सरल हुँदै गईरहेको वर्तमान अवस्थाको लाभ उठाउँदै कतिपय दृश्यहरुलाई प्रभावकारी प्रस्तुत गर्ने प्रयास गरिएको यो चलचित्र यादव खरेलको “श्रीस्वस्थानी” जति प्रभावकारी नभएपनि श्रीस्वस्थानी कथालाई पूर्ण रुप मै प्रस्तुत गरिएको हुनाले यसको महत्व बेग्लै छ ।
अझ कथालाई आवश्यकता अनुसार खण्ड खण्डमा पनि विभक्त गरेर प्रस्तुत गरिएको यो “श्रीस्वस्थानी महिमा” लाई श्रीस्वस्थानीको कथा बोकेको एक महत्वपूर्ण चलचित्रको रुपमा लिनु पर्दछ भने यस चलचित्रले श्रीस्वस्थानीको महिमालाई विश्वभर फैलिएर रहेका श्रद्धालु दर्शक माझ पुर्याउन सफल भएको छ भन्नु पर्दछ ।
Categorized in पेजथ्री