arin enterprises

सिक्किमका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत

SamacharDesk – बिराज | २०८० आषाढ १३, बुधबार

सिक्किमका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत मित्रराष्ट्र भारतको सिक्किम राज्यस्थित राष्ट्रिय भाषा एवं संस्कृति बिद्यालय, गान्तोकका बिद्यार्थीहरुलाई काठमाडौंमा स्वागत गरिएको छ ।

बिद्यालयका प्रमुख बिकास प्रधानको नेतृत्वमा नेपाल आएका २० जनाको टोलीलाई काठमाडौंको तजिलजि गुथि, नेपाःले नेवार परम्परा अनुसार सगुन दिएर स्वागत गरेको हो ।

असार १२ गतेबाट सुरु ५ दिने नेपाल भ्रमणमा रहेको टोलीलाई स्वागत गर्ने क्रममा जीवित कुमारी संस्कृति संरक्षण, संवर्ध्दनका साथै प्रचारप्रसार गर्दै आइरहेको ह्यूमत महिला समूहसंग परिचयात्मक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा समूहका अध्यक्ष मचानानी महर्जनले कुमारी संस्कृति संरक्षणमा गर्दै आएको जानकारी गराए ।

नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा अध्ययनको लागि शैक्षिक भ्रमणमा आएका बिद्यार्थीहरुलाई तजिलजि गुथि, नेपाःका अध्यक्ष राजु नापितले नेवार भोजको परिकार र महत्त्वबारे जानकारी दिँदै नेवाः भोज खुवाइएको थियो ।

बिद्यालय प्रमुख प्रधानले सिक्किमका नेवार विद्यार्थीहरुलाई आफ्नो भाषाा, कला, संस्कृत, संस्कार र सम्पदाको पढाइ मात्रले पूर्णता नहुने भएकोले ब्यवहारिक ज्ञान दिन नेपालमा शैक्षिक भ्रमणको आयोजना गरेको वताए ।

स्वागत कार्यक्रम अघि सिक्किमबाट आएका बिद्यार्थीहरुले बसन्तपुरमा रहेको जीवित राजकीय कुमारीको दर्शन गरेका थिए ।

नेपाल भ्रमणमा रहेको टोलीले काठमाडौं, भक्तपुर, ललितपुरको धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाको अध्ययनका साथै नेपाल लिपि गुथि र आशा सफूकुथिको भ्रमण गर्नेछ ।

साथै पाटन क्याम्पस, ज्यापु संग्रहालय लगायतको क्षेत्र भ्रमण गर्ने कार्यक्रम रहेको छ । शैक्षिक भ्रमणको क्रममा नेपालको बसाईमा सम्पूर्ण ब्यवस्था ललितपुरको ज्यापु समाजले गरेको छ ।

Categorized in समाज