सिल्भरलाईन अस्पतालबाट कलाकारलाई स्वास्थ्य सेवामा छुट
SamacharDesk – बिजयरत्न | २०८१ आषाढ २१, बिहिबार

बालाजुस्थित सिल्भरलाईन हस्पिटलले कलाकारहरुलाई सहुलियत दरमा स्वास्थ्य उपचार गरिदिने भएको छ ।
कलाकारहरुलाई सहुलियत दरमा स्वास्थ्य सेवा दिने सम्वन्धमा हालै नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन हस्पिटलबीच सम्झौता भएको छ ।
सम्झौतामा कलाकार संघकातर्फबाट अध्यक्ष मोहन निरौला र सिल्भरलाईन हस्पिटलबाट प्रबन्धक डाक्टर अभिषेक राज सिंहले हस्ताक्षर गरे ।
बुधवार हस्पिटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दुबै पक्ष बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता लगत्तै कलाकार संघका अध्यक्ष निरौलाले कलाकार संघले कलाकारको लागि स्वास्थ्य सेवामा छुटको लागि औपचारिक रुपमा पहिलो पटक सिल्भरलाईन हस्पिटलसँग सम्झौता भएको बताए ।
हस्पिटलका निर्देशक डाक्टर जोशीले कलाकार संघका पदाधिकारी र सदस्यहरुलाई सम्झौतामा उल्लेख भएको सेवा बाहेक अन्य विभिन्न व्यवहारिक पक्ष र सेवामा समेत छुट हुने बताए ।
यो सम्झौता पछि कलाकार संघका सदस्यहरुले उक्त अस्पतालमा आफ्नो परिचय पत्रको आधारमा स्वास्थ्य सेवामा छुट पाउने भएको छ ।
साथै कलाकार संघका सदस्यहरुको लागि सिल्भरलाईनले निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गरिने भएको छ ।
कार्यक्रममा बरिष्ठ कलाकार बसुन्धरा भुषाल, भुवन चन्द, चैत्यदेवी सिंह, लय संग्रौला, पुरन जोशीसहित कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खडका र संघका सम्पूर्ण पदाधिकारी, चलचित्रकर्मी र हस्पिटल परिवारको उपस्थिती रहेको थियो ।
Categorized in पेजथ्री