गायक पवित्रमानको ‘रुकी रुकी कुरा गर्ने’ सार्वजनिकः भिडियोसहित
SamacharDesk – बिराज | २०८१ फाल्गुण २०, मंगलबार

कुनै समय ‘कति बस्छौं ओढी लाजको घुम्टो’, ‘उन्नत राखौं देशको शीर’ लगायतका गीत गाएर निकै चर्चा कमाएका गायक पवित्रमान शाक्यको नयाँ गीत सार्वजनिक भएको छ ।
गायक शाक्यको नयाँ गीत ‘रुकी रुकी कुरा गर्ने’ सार्वजनिक भएको हो । अडियो नेपाल युट्युब च्यानलमार्फत गत आइतबार उक्त गीत सार्वजनिक भएको हो ।
उक्त गीतमा संगीत बुद्ध सायमिको रहेको छ भने शब्द प्रितम मान शाक्यको रहेको छ । म्यूजिक भिडियोको निर्देशन, दृश्य सम्पादन र छायाङ्कन पनि संगीतकार सायमिले नै गरेका छन् ।
‘पवित्र मान शाक्य जस्ता राम्रो गायकको आवाजमा मेरो संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । गीतको साथमा म्यूजिक भिडियो पनि राम्रै बनाउन सक्दो प्रयास गरेको छु, दर्शक श्रोताले मनपराइदिनु हुनेछ भन्ने आश छ’ संगीतकार सायमिले भने ।
म्यूजिक भिडियोमा दिपक दाहाल, मीरा डंगोल र बिराज गुरुङ्गले अभिनय गरेका छन् । कोरीयोग्राफी पनि मीरा डंगोलले नै गरेकी छन् ।
गायक शाक्यको १९८८ मा रिलिज भएको म्यूजिक एलबम ‘आँशु’ नेपालकै पहिलो रक एल्बमको रुपमा दावी गरिन्छ । यस एल्बमका गीतहरुको रेकर्डिङ यूरोपको बेलारुसमा भएको थियो । यसमा गायक शाक्यले युरोपीय ब्यान्ड सुजोरीसँग सहकार्य गरेका थिए ।
गायक शाक्य लोकप्रिय गीत ‘तिरिरी मुरली बज्यो मनैमा’ गाएका वरिष्ठ गायक स्वर्गीय पन्नाकाजी शाक्यका कान्छा सुपुत्र हुन् ।
उनले आफ्ना दाजु प्रवेशमान शाक्यसँग मिलेर ‘ड्याडी वी मिक्स’ एल्बम पनि निकालेका छन् ।
Categorized in पेजथ्री