arin enterprises

नेपाली संगीत क्षेत्रमा गायक संजीपकाे पुनरागमनः भिडियाेसहित

SamacharDesk – बिराज | २०८१ आषाढ ७, बिहिबार

‘देउरालीको चौतारीमा’, ‘नशा भित्र’, ‘सिरिमा सिरि’, ‘भोलि फेरी सल्लाघारीमा’ लगायत थुप्रै लोकप्रिय गीतहरु नेपाली संगीत क्षेत्रलाई दिएका गायक सन्जीप प्रधानले नेपाली संगीत क्षेत्रमा पुनरागमन गरेका छन् ।

गायक प्रधानले ‘स्टिम इन्जिन’ बोलको गीतको भिडियो सार्वजनिक गर्दै संगीत क्षेत्रमा पुनरागमन गरेका हुन् । लामो सयमको अन्तराल पछि गायक प्रधानको नयाँ गीत बजारमा आएको हो ।

हाल अमेरिका बस्दै आएका गायक प्रधानले केही दिन अघि नेपाल आएको समयमै यो गीतको सुटिङ गरेका थिए । अहिले भिज्युअल एडिटिङको काम सम्पन्न भएसँगै जुन १७ मा आफ्नै युट्युब च्यानलमार्फत यो म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

म्यूजिक भिडियोमा मोडल करिश्मा श्रेष्ठको साथमा गायक प्रधान आफैंले पनि एक्टिङ गरेका छन् । सार्वजनिक भएको यस गीतको रचना र संगीत पनि गायक प्रधानकै रहेको छ ।

धेरै बर्षको अन्तरालपछि दर्शक माझ ल्याएको ‘स्टिम इन्जिन’ बोलको गीतबाट आफु निकै आशावादी रहेको प्रधानले बताएका छन् ।

‘विभिन्न कारणले नयाँ गीत दिन नसकिरहेको अवस्था थियो । अब यो गीत स्टिम इन्जिन दर्शक, श्रोतामाझ ल्याएको छु । सबैले पहिला जस्तै माया दिनुहुन्छ भन्ने आशा छ’ गायक प्रधानले भने ।

गीतको सुटिङ काभ्रे जिल्लाको पनौतीका रमणीय स्थानहरुमा गरिएको छ ।

गीतको भिडियोमा एक यात्रीको कल्पना गरिरहेकी युवतीलाई वास्तविक जीवनमा भेटेको कथा देखाइएको छ । यात्रीको कल्पनामा देखिने युवतीको विभिन्न रुपमाफृत नेपालको विभिन्न जातीय समूहको पहिरन, संस्कृति पनि म्यूजिक भिडियोमा झल्काइएको छ ।

भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने दृश्य सम्पादन विकास दाहालले गरेका छन् । म्युजिक भिडियोका निर्देशन सुब्रत आचार्यले गरेका छन् । 

Categorized in पेजथ्री