arin enterprises

एकै थलोमा गायिका महर्जनको दुई कार्यक्रम सम्पन्न

SamacharDesk – बिजयरत्न | २०८१ पौष २६, शुक्रबार

नेपालभाषाको संगीत क्षेत्रमा लोकप्रिय गीत ‘छंगु ल्यूल्यू वयाः’ को टिकटक प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ ।

उक्त गीतको टिकटक प्रतियोगीताको साथमा काराओके गायन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई आज ललितपुरमा आयोजित एक कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।

गायन प्रतियोगितामा चन्द्रकृष्ण प्रजापतिले पहिलो पुरस्कार जित्न सफल भएका छन् । उनलाई पुरस्कार वापत गीत रेकर्डिङको साथमा म्युजिक भिडियो उपलब्ध गराइने भएको छ ।

प्रतियोगितामा राजेशराज बज्राचार्य दोश्रो भए भने सविनरत्न शाक्य तेश्रो स्थानमा परे । बज्राचार्य र शाक्यले गीत रेकर्डिङको पुरस्कार प्राप्त गरेका छन् ।

टिकटक प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार रुपैयाँ नगदको साथै टप भ्यूज वापतको थप ५ हजार नगद पुरस्कार समेत जितेकी छन् ।

टिकटक प्रतियोगितामा दोश्रो भएकी श्रीजा अवालेले नगद पुरस्कार १० हजार रुपैयाँ र तेश्रो भएकी निकी बज्राचार्य देसारले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

एक हजार ५ सय नगदसहित बबिता रञ्जित, रेश्मा महर्जन, कृष्मा चित्रकार, सुयन चित्रकार, विजय डंगोल, ममता श्रेष्ठ व समीर शंखदेव प्रजापतिले सान्त्वना पुरस्कार पाए ।

विजयी प्रतियोगीहरुलाई ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले प्रमाणपत्र प्रदान गरे । त्यसैगरी गायिका सरीता महर्जन र वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले खादा तथा माला लगाइदिए ।

कार्यक्रममा प्रतियोगिताका निर्णायकहरु निल शाक्य, भुपेन्द्र बज्राचार्य, सुरजबीर बज्राचार्य, अमोघवीर बज्राचार्यलाई पनि सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा गायिका सरीता महर्जनको नेपालभाषाको नयाँ गीत ‘हायेकेमते’ को म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

आनन्दरत्न बज्राचार्यको शब्द र अनिल तुलाधरको संगीत रहेको गीत ‘हायेकेमते’ को म्यूजिक भिडियोमा मनोज महर्जन, हसना महर्जन, रुपा मानन्धर र सुब्रिना चित्रकारको अभिनय रहेको छ ।

गीतको छायांकनको साथमा दृश्य सम्पादन अमर चित्रकारले गरेका छन् । त्यसैगरी सुमन बज्राचार्यको कोरियोग्राफी रहेको छ भने निर्देशन राजेन्द्र महर्जनले गरेका छन् ।

Categorized in पेजथ्री