सत्यनारायणको एकल गायन कार्यक्रम सम्पन्न
SamacharDesk – निर्मल बज्राचार्य | २०८१ आश्विन २०, आइतबार

गायक सत्यनारायण मानन्धरको एकल गायन कार्यक्रम ‘सः सत्यनारायणया’ कीर्तिपुरमा सम्पन्न भएको छ ।
नेपालभाषा एकेडमी र विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको संयुक्त आयोजनामा किर्तिपुरस्थित नेपालभाषा एकेडमीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गायक मानन्धरले १४ वटा नेपालभाषाका गीतहरु प्रस्तुत गरेका थिए ।
गायक मानन्धरले मल्ल राजाहरुबाट रचित तीन वटा गीतसमेत प्रस्तुत गरेका थिए । साहित्यकार प्रतिसरा साय्मिले मल्ल राजाहरुबाट रचित गीतहरुको भावार्थ प्रस्तुत गरेकी थिइन् ।
दुई वटा युगल गीतमा मानन्धरलाई निभा डंगोल र रत्नशोभा महर्जनले साथ दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपालभाषा एकेडमीका उपकुलपति मल्ल के. सुन्दरले जनकवि दुर्गालाल श्रेष्ठको रचना र गायक मानन्धरको गायकीको बारे चर्चा गरेका थिए ।
‘जनकवि दुर्गालाल श्रेष्ठका शब्दहरु अद्भूत छन् । ती अद्भूत शब्दको अभिव्यक्तिको अनुभूति श्रोतालाई प्रदान गर्न सक्ने कलाकार सत्यनारायण मानन्धर हुन्’ उपकुलपति मल्ले भने ।
साथमा विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्य, एकेडमीका प्राज्ञ जन संगीत स्रष्टा अमरराज शर्मा लगायतले आआफ्ना विचार राखेका थिए ।
सांगीतिक प्रस्तुतिको क्रममा सुन्दरकुमार महर्जनले ड्रम प्याड, लक्ष्मीप्रसाद डंगोलले तबला र धिमेय्, विजय बज्राचार्यले बेस गीतार बजाएका थिए । त्यस्तै कीबोर्ड बादनमा राहुल भुजेल, बाँसुरीमा संजीव मैनाली र गीतारमा प्रवीण श्रेष्ठले साथ दिएका थिए ।
Categorized in पेजथ्री