arin enterprises

प्रधानमन्त्री पत्नि सीता दाहालको निधन

SamacharDesk | २०८० आषाढ २७, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको निधन भएको छ ।

बुधवार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उहाँको देहान्त भएको हो ।

स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि आज बिहान पौने ८ बजे नर्भिक अस्पताल लगिएकोमा उपचार शुरु गर्दा नगर्दै सीताको निधन भएको हो ।

अस्पताल ल्याइपु¥याउँदा नै उहाँको मुटुको चाल निकै सुस्त भइसकेको भन्दै बिहान ८ बजेर ३३ मिनेट जाँदा नर्भिक अस्पतालका डा. जगदीश जैसवालले निधन भएको बताउनुभयो ।

बिहान साढे ९ बजे प्रधानमन्त्री दाहालका निजी चिकित्सक डा. युवराज शर्माले प्रेस ब्रिफिङ गर्दै ६९ वर्षिया सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था हुनुहुन्थ्यो ।

पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट उहाँ लामो समयदेखि पीडित भएको बताउनुभयो । बिहान सीतालाई अस्पताल पु¥याएलगत्तै प्रधानमन्त्री दाहाल पनि अस्पताल पुग्नुभएको थियो ।

त्यसपछि अन्य मन्त्रीहरु पनि अस्पताल पुगेका थिए । उपराष्ट्रपति रामसहायप्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, डा बाबुराम भट्टराइलगायत विभिन्न दलका नेताहरु पनि नर्भिक अस्पताल पुगेर श्रद्धाञ्जली दिएका थिए ।

त्यसैगरी तीन वटै सुरक्षा अंगका प्रमुखहरु र दाहालका परिवारका सदस्यहरु पनि अस्पताल पुगेका थिए ।

यसैबीच,राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई समवेदना दिनुभएको छ । सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै राष्ट्रपतिले टेलिफोन गरेर प्रधानमन्त्री दाहाललाई समवेदना प्रकट गर्नुभएको हो ।

दिवंगत सीताको पार्थिव शरीर माओवादी पार्टी कार्यालय कोटेश्वर राखिएको छ । पार्टी कार्यालयमा दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा सीताको अन्त्यष्टि गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Categorized in समाज