सिथि नखः चाड एक मान्यता अनेक
SamacharDesk – सन्दिप महर्जन | २०७९ जेठ २२, आइतबार

हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठी अर्थात् ने.सं. अनुसार तछलाथ्व षष्ठी तिथिको दिनलाई नेवाः समुदायले सिथि नखःको रुपमा मनाउँदै आएका छन् ।
सिथिनखः उपत्यका तथा देशभरि छरिएर विभिन्न स्थानमा बसोबास् गरिरहेका नेवाः समुदायले स्थानीय परम्परा अनुसार मनाउने गर्छन् । सिथिनखःलाई फू नखः, सित्तिकं वःगु नखः, म्ह्याय्मचा नखः आदि विभिन्न नामले पनि चिनिन्छ भने वर्षभरि मनाइने पर्वहरुमध्ये यसलाई अन्तिम पर्वको रुपमा लिइन्छ ।
सिथिनखः पछि वर्षायाम सुरु हुने र यससँगै धान रोपाईँमा व्यस्त हुने भएकोले यसलाई अन्तिम पर्व र रोपाइँ पछि सुरु हुने गथांमुगः पर्वलाई पहिलो पर्वको रुपमा लिने गरिन्छ ।
कुमार षष्ठीको नामले पनि चिनिने यो पर्वलाई, इतिहासकारका अनुसार षष्ठी शब्दबाट नै सिथि शब्द आएको मान्दछन् ।
परम्परा/रितिरिवाज
सिथिनखःको दिन मुख्य रुपमा कुमार र धरतीलाई पूजा गर्ने प्रचलन रहेको पाइन्छ । प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो पर्वमा सिथिद्यः को रुपमा कुमारलाई पूजा गर्ने परम्परा रहेको छ भने यस दिन बिहे गरेर गइसकेकी छोरी, चेलीबेटीलाई घरमा पाहुना निम्तो दिएर बोलाउने गरिन्छ ।
यस दिन मास, मुगी, मुसुरो, केराउ, चनाको वः समेत गरी ६ प्रकारको वः बनाउने गरिन्छ भने चतांमरिसमेत खाने गरिन्छ । यस दिन पीठोको सुख्खा रोटी बनाएर खान नहुने मान्यता पनि रहेको पाइन्छ ।
सांस्कृतिक पक्ष सिथि नखः प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्व हो । ग्रीष्म ऋतु र वर्षा ऋतुको मध्यमा मनाइने यो पर्वले पानीको स्रोत र पानीको महत्व बोकेको छ ।
यस दिन आफ्नो टोल वरिपरि रहेको इनार, कुवा, ढुंगेधारा, पोखरी, कुलो जस्ता विभिन्न पानीको स्रोतहरु रहेको ठाउँमा सबैजना मिलेर सरसफाइ गर्ने गरिन्छ । ती ठाउँमा जमेको फोहोर, बालुवा, घाँसपात, लेउ, जलकुम्भी आदि निकालेर सफा गरि वर्षा यामको लागि तयारी गर्ने यो परम्परा निकै नै वैज्ञानिक मान्न सकिन्छ ।
ग्रीष्म ऋतु चैत्र–वैशाखको समयमा खासै वर्षा नहुने भएकोले पानीका यी स्रोत रहेको ठाउँमा पानी कम भएको हुन्छ र यो समयमा आउने हावा हुरीको कारण धुलो मिसिँदा पानी फोहोर हुने गर्छ ।
वर्षा याम भनेको पर्याप्त मात्रामा पानी पर्ने समय हो, नयाँ पानी सञ्चय गर्ने समय पनि हो । त्यसैले वर्षायाम सुरु हुनु ठीक अगाडि पानीका विभिन्न स्रोतहरु सफा गरेर तयारी गर्नु अति नै स्वागतयोग्य तथा दुरदर्शितापूर्ण संस्कृति हो ।
इनार सफा गर्नु जोखिमपूर्ण काम हो तर, हाम्रा अग्रजहरुले निकै दूरदर्शी विचार पुर्याएर सावधानी अपनाएको पाइन्छ । परम्परागत विधि अनुसार इनारमा पस्नु अघि नागको पूजा गरिनुपर्दछ र इनार भित्र पस्नु अगाडि विशेष तरिकाले बलिरहेको बत्ती तल पानी भएको ठाउँसम्म पठाउने गरिन्छ ।
यो बत्ती भित्र पठाउने क्रममा आगो निभेमा इनारभित्र जान नहुने मान्यता रहेको छ भने, यसो भएमा ३ दिन पछि पुनः यसरी नै बत्ती भित्र पठाएर जाँच गर्ने गरिन्छ । यो परम्परालाई गहिरिएर हेर्ने हो भने, इनार भित्र अक्सिजनको मात्रा जाँच गर्ने विधि हो ।
अक्सिजनको मात्रा कम भएको स्थानमा आगो निभ्छ, बल्दैन र यदि अक्सिजनको मात्रा कम भएको समयमा इनार भित्र गएमा सास फेर्न नै समस्या भएर अप्रिय घटना हुन सक्छ ।
यसरी वर्षा सुरु हुनु भन्दा अगाडि पानीको स्रोतहरु तथा आफ्नो टोल छिमेक सफा गर्ने परम्पराले सरसफाईमा ध्यान दिनुपर्ने कुराको सन्देश दिन्छ ।
देवाली परम्परा
सिथिनखःलाई देपूजा, देवाली अर्थात् कुलपूजा मनाउने अन्तिम दिनको रुपमा लिइन्छ । विभिन्न स्थानमा विभिन्न समयमा देवाली मनाउने गरेतापनि, केही कारणवश कुल पूजा गर्न नपाएका, कुलपूजा गर्ने तिथि थाहा नभएर अन्योलमा रहेकाहरुले सिथि नखःको दिन आफ्नो कुल पूजा मनाउने गर्छन् ।
हराएको परम्परा
सिथिनखःको दिन आफ्नो खेतमा गएर बँ पूजा अर्थात् भूमी पूजा गर्नु एक प्राचीन परम्परा हो । सिथिनखःको दिन पहिलो बँ पूजा भनी खेतको आलीमा पूर्व फर्केर सुर्य दर्शन गरि अन्न राम्रोसँग फलोस्, घाम पर्याप्त पुगोस्, रोग्व्याधी लागेर खेती नबिग्रियोस् भनी पूजा गर्ने यो परम्परा हाल लगभग हराइसकेको छ ।
सिथिनखःको दिन पहिलो पूजा गरिसकेपछी पूर्णिमाको दिन दोस्रो बँ पूजा उत्तर फर्केर मेघलाई र हिमालयलाई सम्झेर पर्याप्त वर्षा होस, सुख्खापन नहोस, अनिकाल नपरोस भनी गरिन्छ ।
यसपछि मात्र रोपाइँ सुरु गर्ने परम्परा रहेको छ । यसैगरी यस दिन कागजको फयगुलि, फयलिं अर्थात् कागजको पंखा बनाएर चढाउने तथा कौसीमा राख्ने र घुमाउने पनि गरिन्छ । यो पनि अचेल हराइ नै सकेको भन्न सकिन्छ ।
जात्रा तथा पर्व
सिथिनखःको दिन काठमाडौको न्हूघः टोलमा रहेको सिथिद्यः जात्रा गर्ने परम्परा रहेको छ । यो परम्परा पनि अचेल बन्द भएको अवस्था छ । यो जात्रा नगरिएको अहिले वर्षौं भइसकेको छ । तृतीयाको दिन कुमार डबुलीमा महास्नान गराइ विभिन्न पूजा गरी आजको दिन कुमार सिथिद्यःको जात्रा गर्ने गरिन्छ ।
यसैगरी मध्यपुर थिमिमा पनि आजको दिन थिमि करुणामयको भव्य खट जात्रा गर्ने गरिन्छ । प्रतिपदाको दिन महास्नान गराए पश्चात् विभिन्न पूजाहरु गरि आजको दिन जात्रा गर्ने परम्परा रहेको पाइन्छ ।
