किशोरीहरुका दिन नेपालकाे क्षमता अभिवृद्धि तालीम सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ भाद्र ११, मंगलबार

किशोरीहरुका दिन नेपाल (Days for Girls Nepal) ले आफ्ना टिम र इन्टरप्राइजका लागि तीन दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेको छ ।
स्थानीय तहमा योजना तर्जुमा तथा बजेट निर्माण प्रक्रिया विषयक सो तालिममा धादिङ, जनकपुर, हेटौंडा र चितवनबाट चार पुरुष सहित १२ जनाको सहभागिता रहेको किशोरीहरुका दिन नेपालकी कार्यकारी निर्देशक माया खाइतुले जानकारी दिए ।
संस्थाकै भवन बाफलमा भएको सो तालिममा इन्टरप्राइज लिडरहरुका साथै वडा अध्यक्ष, सामाजिक अभियन्ताहरुको पनि सहभागीता रहेको थियो ।
नेपाल सरकारका पुर्व कर्मचारीद्वय वेदप्रसाद सापकोटा र पुष्पराज शाहिको प्रशिक्षणमा तालीम सम्पन्न भएको थियो ।
तालीममा नगरपालिकाको वार्षिक योजना तर्जुमा प्रकृया र चरणहरु, योजनामा टोल तथा वडा तहमा आफ्ना अनुभव प्रष्ट पार्ने, महिला समुहहरुले कार्यान्वयन गर्न सक्ने स–साना योजना प्रस्ताव एवम् बजेट, बजारीकरण तथा व्यवसायीक योजना तयार गर्ने विधि सिकाइएको थियो ।
किशोरी र महिलाहरूलाई महिनावारी, प्रजनन स्वास्थ, व्यक्तिगत सरसफाइ र आत्मसम्मान बढाउने शिक्षा तालीम प्रदान गर्दै आएको ‘किशोरीहरुका दिन नेपाल सस्था’ले पुन प्रयोग गर्न मिल्ने कपडाको प्याड र डिएफजी कीट विभिन्न जिल्लाहरुमा निःशुल्क वितरण गर्ने गरेको छ ।
विभिन्न जिल्लास्थित १५ इन्टरप्राइजले महिला स्वास्थ र महिनावारी शिक्षाबारे जनचेतना फैलाउँदै स्थानीय रोजगारी, नेतृत्व र सीप प्रवर्द्धन गरी सकारात्मक दीगो परिवर्तनका लागि पहल गरिरहेको छ ।
संस्थाले सन् २०२४ मा कैलाली, जनकपुर, काभ्रे, तनहुँ र सिन्धुपाल्चोक क्षेत्रमा महिनावारी शिक्षा र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड बनाउने तालिम संचालन भइरहेको पनि निर्देशक खाइतुले बताए ।
Categorized in समाज