चलचित्र तिबःको गीत सार्वजनिक
SamacharDesk – बिराज | २०८० कार्तिक २८, मंगलबार

नेपालभाषाको निर्माणाधीन चलचित्र ‘तिबः, the support’ को गीत सार्वजनिक भएको छ । वाइल्ड बुल्स प्रोडक्सनको ब्यानरमा बन्दै गरेको चलचित्र ‘तिबः’को गीत ‘मन छंके सुलाच्वन’ आज सार्वजनिक भएको हो ।
आज नेपाल सम्वत ११४४ न्हूदँ (नयाँ वर्ष)को अवसर पारेर हाइटेक इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको गीतको छायाङ्कन दाेलखा र रामेछापकाे बीचमा रहेकाे सैलुङ र सोलुखुम्बुकाे ४ हजार ६५ मिटर उचाईमा पिके पिकमा गरिएको छ । सोलुखुम्बु, पिके पिकमा छायाङ्कन गरिएको गीतमा सगरमाथा समेत देख्न सकिन्छ ।
चलचित्रको कथावस्तु अनुसार चाहिएको दृश्य दर्शक सामु राख्न आफुले कुनै सम्झौता नगरेको चलचित्र निर्देशक रवि सायमिले बताए ।
‘यो गीतको लागि यस्तै हिमालकै दृश्य चाहिएको थियो, हामीले पाइके पिकमै छायाङ्कन गर्यौं । त्यस्तै चन्द्रागिरी, चित्लाङको साथै अमेरिकामै पनि चलचित्रको छायाङ्कन गरेका छौं’ निर्देशक सायमिले भने ।
आज सार्वजनिक भएको गीतमा स्वर सर्जु रंजित र दीपा महर्जनले दिएका छन् । संगीत भुपेन्द्र बज्राचार्यले दिएका छन् भने शब्द संघ रत्न शाक्यको रहेको छ ।
छायाङ्कन र दृश्य सम्पादन अमर चित्रकारले गरेका छन् भने कोरीयोग्राफी रोहीया महर्जनको रहेको छ । गीतमा श्रृष्टि महर्जनको साथमा भाइरल गीत ‘सालूगु गाचा’ र ‘अयलाः लूवया’ का हिरो मनोज महर्जनलाई हेर्न सकिन्छ ।
चलचित्रमा मनोज र श्रृष्टिको साथमा सुशिल राजोपाध्याय, सरस्वती मानन्धर, कृष्ण भक्त महर्जन, आशाकाजी थकू, सुनिता श्रेष्ठ, संघरत्न शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
Categorized in पेजथ्री