arin enterprises

समूह ‘ई’ बाट स्विडेन र स्पेन नकआउट चरणमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १०, बिहिबार

समूह विजेता बन्दै स्विडेन युरोकप २०२०को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै स्विडे नकआउट चरणमा प्रवेश गरेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको दोस्रो मिनेटमै इमिल फोर्सवर्गले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा इमिल फोर्सवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै स्विडेनलाई २–० को अग्रता दिलाए ।

रोबर्ट लेवान्डोस्कीले ६१ औं मिनेटमा  र ८४ औं मिनेटमा गोल गर्दै पोल्याण्डलाई २–२ को बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयमा भिक्टरले गोल गर्दै स्विडेनलाई ३–२ गोलको जित दिलाए ।

यहि समूहको अर्को खेलमा स्पेनले स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गर्दै समूह उपविजेताको रूपमा युरोकप २०२०को नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति सेभियामा भएको खेलको ३० औं मिनेटमा गोलकिपर मार्टिनको आत्मघाती गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । सरबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

 पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टले,पाब्लो सराबियाले ५६ औं मिनेटमा  र फेरान टोरेसले ६७ औं मिनेटमा गोल गरेपछि स्पेन ४–० ले अघि रह्यो ।

 त्यसपछि खेलको ७१ औं मिनेटमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेनले ५–० को जित निकाल्यो । पाउ टोरेसको हेडर बल जुराजको खुट्टामा लाग्दै गोल भएको थियो ।

योसँगै समूह ‘ई’ मा शीर्ष स्थानको स्विडेनले ७ अंक र दोस्रो स्थानको स्पेनले ३ खेलमा ५ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

तेस्रो स्थानको स्लोभाकियाले ३ अंक पोल्याण्डले १ अंक जोड्दै समूह चरणबाटै बाहिरिएको छ ।

Categorized in स्पाेर्ट्स