बर्लिनसँग डर्टमण्ड पराजित
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष ४, शनिबार

बुन्डेस लिगा फुटबल अन्तर्गत हिजो राति भएको खेलमा युनियन बर्लिनसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ । बर्लिनले डर्टमण्डलाई २–१ गोलले पाखा लगाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा बर्लिनका ताइओ आओनियिले गोल गर्दै टिमलाई अगाडी बढाए । तर यो अग्रता ३ मिनेटमात्र कायम हुन सक्यो ।
डर्टमण्डका युसुफो मोउकोकाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
यो गोलसँगै युसुफाले बुन्डेसलिगाामा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन् । युसुफाले १६ वर्ष २८ दिनको उमेरमा गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
यसअघि वायर लिभरकुजेनका लागि फ्लोरियन वत्र्जले १७ वर्ष १५ दिनको उमेरमा गोल गर्दै कीर्तिमान बनाएका थिए ।
तर युसुफाको कीर्तिमानी गोलले पनि डर्टमण्डलाई हारबाट बचाउन सकेन ।
७८औं मिनेटमा बर्लिनका मार्विन फ्रिडरिचले गोल गर्दै टिमलाई २–१ को जित दिलाए ।
हारसँगै डर्टमण्डले शीर्ष स्थानको बायर लिभरकुजेनसंग अंक दुरी घटाउने मौका गुमाएको छ । डर्टमण्डले यस सिजन ५ खेलमा हार ब्यहोरेको छ ।
डर्टमण्ड २२ अंकसहित अङ्क तालिकाको चौथो स्थानमा छ । वर्लिन भने १३ खेलबाट २१ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।
शिर्ष स्थानको लिभरकुजेनको १२ खेलबाट २८ अङ्क छ । बायर्न म्यूनिखले १२ वटै खेल खेलेर २७ अङ्क जोडेको छ । तेश्रो स्थानको आरबि लेप्लिगको पनि समान १२ वटै खेलबाट २७ अङ्क नै रहेको छ ।
Categorized in स्पाेर्ट्स