arin enterprises

लन्डन डर्बीमा चेल्सी आर्सनलसँग पराजित

SamacharDesk – बिकाश | २०७७ पौष १२, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीको खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । आर्सनलको मैदानमा भएको लन्डन डर्बीमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो ।

खेलको ३४औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अलेक्जेण्डर लाकाजेटले आर्सनललाई अग्रता दिए । त्यस्तै ४४औं मिनेटमा ग्रानिट झाकाको गोलबाट आर्सनलको अग्रता दोब्बर भयो ।

दोश्रो हाफमा भने दुवै टिमले एक/एक गोल गरेका थिए । ५६औं मिनेटमा बकायो साकाले गोल गर्दै खेललाई ३–० मा पुर्‍याए भने ८५औं मिनेटमा ट्यामी अब्राहमले चेल्सीका लागि सान्त्वना गोल गरे ।

इङ्गलिस प्रिमियर लिग अन्तर्गत नै गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई २–० ले हराएको छ । म्यानसिटीलाई जित दिलाउन गन्डोगानले १४औं मिनेटमा र फेरान टोरेसले ५५औं मिनेटमा एक/एक गोल गरे ।

त्यस्तै एभर्टनले शेफिल्ड युनाईटेडमाथि १–० को जित निकालेको छ । खेलमा एभर्टनका गिल्फी सिग्युरोस्सोनले ८०औंं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

गएराती नै सम्पन्न अर्को खेलमा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेडले २–२ गोलको बराबरी खेलेका छन् । फुल्हम र साउथयाम्पटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्यस्तै एस्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि ३–० को शानदार जित निकालेको छ ।

प्रिमियर लिग फुटबलको अंक तालिकामा १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल शिर्ष स्थानमै यथावत छ । १५ खेलबाट २९ अंकसहित एभर्टन दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा रहेको लेष्टर सिटीको २८ अंक छ ।

Categorized in स्पाेर्ट्स