स्वारेजको दुई गोलसँगै एट्लेटिकोको एल्चेमाथि सहज जित
SamacharDesk – बिकाश | २०७७ पौष ४, शनिबार

स्पेनिस ला लिगा अन्तर्गत आजको खेलमा एट्लेटिको मड्रिडले एल्चेमाथि सहज जित हात पारेको छ ।
स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली एट्लेटिको मड्रिडले पाहुना टोली एल्चेलाई ३–१ गोलअन्तरले हराएको हो ।
एटलेटिकोलाई जित दिलाउन लिभरपुल र बार्सिलोनाका पुर्व फर्वार्ड लुइस स्वारेजले दुई गोल गरे । त्यस्तै डिएगो कोस्टाले एक गोल गरे ।
स्वारेजले ४१औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ५८औं मिनेटमा स्वारेजले अर्को गोल थप्दै टिमको अग्रता दोब्बर बनाए । खेलको ८०औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै डिएगो कोस्टाले टिमलाई ३–१ को जित दिलाए ।
एल्चेका लागि ६४औं मिनेटमा लुकास बोएले सान्त्वना गोल गरेका थिए ।
जितसँगै तालिकाको शीर्ष स्थानको एट्लेटिको मड्रिडले दोश्रो स्थानको रियल सोसिडाडसँगको तीन अंकको अग्रता बनाएको छ । एट्लेटिकोको १२ खेलबाट २९ अंक छ भने दोश्रो स्थानको सोसिडाडले १४ खेलबाट २६ अंक जोडेको छ ।
१३ खेलबाट २६ अंक जोडेको रियल मड्रिड तेश्रो र समान १३ खेलबाट २२ अंक जोडेको भिल्लारियल चौथो स्थानमा छ । पाँचौ स्थानको बार्सिलोनाको भने १३ खेलबाट २१ अङ्क छ ।
Categorized in स्पाेर्ट्स