बार्सामाथि युभेन्टसको शानदार जित
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २४, बुधबार

यूईएफा च्याम्पियन्स लिग अन्तर्गत हिजो राती भएको खेलमा स्टार खेलाडी मेस्सीको टिम बार्सिलोना अर्का स्टार खेलाडी रोनाल्डोको टिम युभेन्टससँग पराजित भएको छ ।
लियोनेल मेसीको स्पेनिस क्लब बार्सिलोनामाथि इटालियन रोनाल्डोको इटालियन क्लब युभेन्टसले उसकै मैदान क्याम्प नाउमा ३–० को शानदार जित निकालेको हो ।
समूह ‘जी’ अन्तर्गत भएको खेलको १३औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । रोनाल्डोलाई बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजोले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो ।
२०औं मिनेटमा वेस्टन म्याककेनीले युभेन्टसको लागि अर्को गोल दिँदै टिमको अग्रता दोब्बर बनाए ।
५२औं मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्याण्डबल गरेपछि युभेन्टसले फेरी अर्को पेनाल्टी हान्ने अवसर पायो । दोश्रो पेनाल्टीलाई पनि रोनाल्डोले नै गोलमा परिणत गर्दै टिमको लागि तेश्रो गोल दिएर युभेन्टसको जीत सुनिश्चित बनाए ।
योसँगै च्याम्पियन्स लिगमा रोनाल्डोको एक सय ३४ गोल पुगेको छ ।
जितसँगै समूह विजेता हुँदै युभेन्टस अन्तिम १६ मा प्रवेश गरेको छ । समुहको उप विजेता बार्सिलोना पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।
रोनाल्डो र मेस्सी सन् २०१८ को मे महिनापछि पहिलो पटक यहि खेलमा आमने सामने भएका थिए भने बार्सिलोना सन् २०१६ यता पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा पराजित भएको छ ।
Categorized in स्पाेर्ट्स