arin enterprises

तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भोलि हुने

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १३, शनिबार

नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भोलि आइतबार हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईको प्रमुख आथित्यमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरूले विभिन्न विषयमा मन्तब्य राख्ने कार्यक्रम रहेको छ ।

नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र मार्केटिङ’, राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’को बारेमा आआफ्नो विचार राख्नेछन् ।

त्यसैगरी उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७६’ र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो प्रस्तुती दिनुहुनेछ ।

यस्तै श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन र्‍युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्नेछन् ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पनि आफ्नो मन्तब्य राख्ने छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिकको भावना र आन्दोलन अनुसार नेपाली खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई नयाँ घटनाक्रम र अवस्थाबारे सचेतनामुलक जानकारी गराउन यस्तो कार्यक्रम हुँदै आएको छ ।

यसअघि सन् २०१६ र २०१९ मा पनि दुई संस्करणका फोरम आयोजना भइसकेका छन् ।

यस्तै महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाल ओलम्पिक कमिटीले यस्तो कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्ने योजना रहेको बताए ।

कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले यस प्रकारको फोरम कार्यक्रमले नेपाली खेलकुदसँग सम्बन्धित क्षेत्रलाई आफ्नो कार्यक्षमता बढाउन र कार्यक्रमहरू नियमपूर्वक सुचारु रूपले अगाडि बढाउन मदत मिल्ने बताए ।

कोरोना महामारीको अवस्थामा कार्यक्रम जुमको माध्यमबाट ‘भुर्चअल्ली’ आयोजना गरिन लागेको छ ।

Categorized in स्पाेर्ट्स