कतार ओलम्पिक कमिटी नेपालमा
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १८, बिहिबार

कतार ओलम्पिक कमिटीले नेपाल ओलम्पिक कमिटीसँग सन् २०३० को एसियाली खेलकुद आयोजनाको दावेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका लागि अनुरोध गरेको छ । एक दिने भ्रमणको क्रममा नेपाल आइपुगेको कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटीसँग सहयोग र समर्थनको लागि अनुरोध गरेको हो ।
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालय भ्रमणको क्रममा कतार टोलीले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाली पक्षसँग दुई पक्षीय सहयोग र सम्बन्धलाई लिएर छलफल गरेको छ ।
नेपाली टोलीमा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठ पनि सम्मिलित हुनुहुन्थ्यो ।
नेपाल आएको कतार ओलम्पिक कमिटिको १२ सदस्यीय टोलीको नेतृत्व कतार ओलम्पिक कमिटीका महासचिव रसिद जे ए अल्बुनइनले गरिरहेका छन् । टोलीमा नेपालका लागि कतारका राजदुतको पनि उपस्थिति रहेको थियो ।
टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दावेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको छ ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना गर्नुभयो । सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलकुदको विकासमा कतार र नेपाल आपसी सहयोगका लागि वचनबद्ध रहेको धारणा राख्नुभयो ।
‘नेपाल र कतारको दुई पक्षीय सुमधुर सम्बन्धले दुई देशबीचको खेल सम्बन्ध बलियो बनाउन मदत मिलेको छ’ अध्यक्ष श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो देशको दावेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गर्नुभयो ।
कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मन पनि हुनुहुन्थ्यो ।
Categorized in स्पाेर्ट्स