arin enterprises

श्रीलंका क्रिकेट बोर्ड बर्खास्त

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २१, मंगलबार

श्रीलंकन सरकारले श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् ।

आइसिसी एकदिवसीय विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलंका खेलमन्त्री रोशन रणसिंघेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन् ।

बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो।

सन् १९९६मा श्रीलंकालाई विश्वकप विजेता बनाउने कप्तान ५९ वर्षीय अर्जुना रणतुंगालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ ।

कोलम्बोमा मन्त्री रणसिंघले टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता रहेको र पूर्वकप्तान रणतुंगा नै श्रीलंकन क्रिकेट टोलीलाई पुनरजीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति रहेको जनाए ।

यस्तै उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिए ।

यता रणतुंगाले क्रिकेट पुनरनिर्माणको चुनौती स्वीकार गरेको बताए । श्रीलंका क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेकोले  त्यो छवि परिवर्तन गर्न चाहको रणतुंगाले भने ।

गत बिहिबार विश्वकपमा आयोजक भारतसँग श्रीलंकाको तीन सय दुई रनको पराजित भयो । मुम्बईमा भएको उक्त खेलमाभारतको ३ सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलंका १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भएको थियो ।

यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो ।

यस पराजितपछि मन्त्री रणसिंघेले सार्वजनिकरुपमा सम्पूर्ण बोर्डको राजीनामा मागेका थिए । मन्त्री रणसिंघेले श्रीलंका क्रिकेट बोर्डमाथि देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाकाएका छन् ।

“बोर्डका अधिकारीहरुलाई पदमा बसिरहने कुनै नैतिक अधिकार छैन । तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ । ”

यस्तै यो हारपछि सार्वजनिक आक्रोश बढ्दा शनिबार आक्रोशित विरोध प्रदर्शन भएपछि कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गर्नु परेको थियो ।

व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक संकटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद भने कायम रहेको छ ।

Categorized in स्पाेर्ट्स