श्रीलंकामा संकटकाल घोषणा
SamacharDesk – राम डंगोल | २०७८ चैत्र २०, आइतबार

आर्थिक संकटका कारण अघिल्लो साता कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित गरेको श्रीलंकामा संकटकाल घोषणा गरेको छ ।
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले आपतकालको घोषणा गरेको छ ।
आर्थिक संकट भएसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारणले आक्रमणको प्रयास गरेसँगै सरकारले देशव्यापी सुरक्षाका लागि भन्दै आपतकालको घोषणा गरेको हो ।
सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरुको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरीएको त्यहाँको सरकारले जनाएको छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गर्दा सर्वसाधारण र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारीर सुरक्षाकर्मीहरु पनि घाइते भएका थिए ।
विरोध प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि सरकारले आदेश जारी गरेको छ । राजधानी कोलोम्बोलगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा नो गो जोन घोषणा गरेको बीबीसीले जनाएको छ ।
सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलंका पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुकोसमेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण आन्दोलित भएका हुन् ।
आर्थिक मन्दीसँगै अत्याधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय