सामाजिक सुरक्षा कोषले मनायो सातौं वर्षगाँठ
SamacharDesk | २०८१ मङ्सिर ११, मंगलबार
सामाजिक सुरक्षा कोषले आज सातौं वर्षगाँठ मनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज सातौं सामाजिक सुरक्षा कोष दिवस मनाइएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कामदारलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले दुई चार दिन मात्रै काम गर्ने ज्यालादारी कामदारलाई पनि सामाजिक सुरक्षामा ल्याइने बताउनुभयो । थोरै सेवा गर्नेहरुलाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने उहाँको भनाइ थियो ।
उहाँले सरकार वैदेशिक रोजगारीमा गएका सबै युवाहरुलाई कोषको दायरामा ल्याउन प्रतिवद्ध रहेको पनि बताउनुभयो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले यो वर्षदेखि वैदेशिक क्षेत्रका श्रमिकको औषधि उपचारको दायरा बढाएको बताउनुभयो ।
यसअघि बैदेशिक रोजगारमा गएका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान–श्रीमति र १८ वर्ष मुनिका उनीहरुका सन्तानको पनि उपचार सेवा थप गरिएको जानकारी दिनुभयो ।
कोषले अहिलेसम्म विरामी खर्च, दुर्घटना खर्च, अशक्त खर्च, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत अहिलेसम्म ११ अर्ब ६२ करोड रुपैयाँ वितरण गरिएको जनाएको छ ।
कोषमा हाल १७ लाख ९७ हजार योगदानकर्ताले योगदान गर्दै आएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रूपैयाँ बचत छ । उक्त रकम दिन प्रतिदिन बढ्दो क्रममा छ ।
वि.सं. २०७५ मंसिर ११ गते सरकारले योदानमा आधारित सामाजिक सुरक्षा योजनाको थालनी गरेको हो । २०७५ मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने निर्णय पनि गरेको थियो ।
Categorized in राष्ट्रिय