arin enterprises

स्टार अवार्ड दोश्रो संस्करणको औपचारिक समापन

SamacharDesk – बिराज | २०७९ चैत्र १७, शुक्रबार

अवार्ड विजेतालाई प्रमाण पत्र र बधाई दिँदै नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डसको दोश्रो संस्करणको औपचारिक समापन गरिएको छ ।

आज शुक्रबार भक्तपुरमा एक समारोहको आयोजना गर्दै अवार्डको दोश्रो संस्करणको समापन गरिएको हो ।

कार्यक्रममा अवार्ड विजेता र सम्मानितहरुलाई आयोजक संसार क्रिएसन्सबाट विजेता प्रमाण पत्र दिइएको थियो । त्यस्तै आर.बि. फिल्म्सबाट बधाई पत्र प्रदान गरिएको थियो ।

साथमा, कार्यक्रमलाई विभिन्न किसिमबाट सहयोग गर्ने सहयोगी र प्रायोजकहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।

वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले सबैलाई प्रमाण पत्र प्रदान गरे भने आर. बि. फिल्म्सका प्रवन्ध निर्देशक रविन्द्र शाहीले बधाई पत्र प्रदान गरे । भक्तपुर इन्टरनेशनल हस्पिटलका उपाध्यक्ष अशोक कुमार श्रेष्ठले खादा ओढाए ।

मन्तव्यको क्रममा वरिष्ठ सिने पत्रकार तुलाधरले नेपाल टेलिभिजनमा आफुले नेपालभाषाको कार्यक्रम हसना चलाउँदा नेपालभाषा बोल्न नदिएको अवस्था सम्झिँदै अहिले नेपालभाषाको संचार क्षेत्र अगाडी बढेको देख्दा खुसी लागेको बताए ।

‘पहिला हामीले नेपाल टेलिभिजनमा हसना कार्यक्रम चलाउँदा नेपालभाषा बोल्न प्रतिवन्ध लगाइएको थियो । अहिले हसनासँगै नेपालभाषाको म्यूजिक भिडियो निरन्तर हुँदै आजको दिनसम्म आएको छ र नेपालभाषाको म्यूजिक भिडियोकै यस्तो भव्य र ठुलो अवार्ड आयोजना हुँदा खुसी लागेको छ’ तुलाधरले भने ।

आर. बि. फिल्म्सका प्रवन्ध निर्देशक शाहीले कला क्षेत्र र कलाकारलाई सबैले माया गरिदिन र साथ, सहयोग दिन अपील गरे ।

संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले आफुले अवार्डको तेश्रो संस्करण पनि आयोजना गर्ने प्रतिवद्धता जनाउँदै सबैको साथ, सहयोगको अपेक्षा पोखे ।

Categorized in पेजथ्री