arin enterprises

काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने प्रदेश सांसद शाक्यको भनाई

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ भाद्र १७, बुधबार

वागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले उचित व्यवस्थापन सहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताउनुभएको छ । 

समाचारडेस्कसँगको संक्षिप्त कुराकानीमा प्रदेश सांसद शाक्यले अहिलेको अवस्था अनुसार संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिने भन्नुभयो । 

‘१४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य संकटकाल घोषणा गरी ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘केही दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनतालाई घर भित्रै १४ दिन बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगाउनु पर्छ ।’ 

संकटकालको समय अहिलेको लकडाउन जस्तो खुकुलो हुनु नहुने पनि बताउनु भयो । आम नागरिकले अहिलेको कठिन अवस्थालाई युद्धकै अवस्था सम्झेर स्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्नुपर्ने उहाँको धारणा छ । 

दिनहुँ कमाएर खानुपर्ने न्यूनवर्गलाई १४ दिन घरभित्रै बस्ने बातावरण बनाउन संघीय र प्रदेश सरकारले आवश्यक सामाग्री राहत स्वरुप उपलब्ध गराउनुपर्नेमा शाक्यले जोड दिनुभयो । 

१४ देखि २१ दिनसम्मको संकटकालपछि केही खुकुलो लकडाउन गर्न पनि सुझाव दिनुभयो । 

‘त्यो अवधिमा पनि स्वयंसेवक तथा समुदायका व्यक्तिहरुले चनाखो भई संक्रमणको जोखिमलाई ध्यानमा राखेर निगरानी बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘स्थिति विस्तारै सामान्य हुनेतर्फ गएपछि सहज रुपमा अघि बढ्न सकिन्छ ।’ 

समुदायलाई कोरोना संक्रमणबाट जोगाउन कन्ट्याक ट्रेसिङलाई सुक्ष्म रुपमा लैजानुपर्ने सुझाव पनि अघि सार्नुभएको छ । त्यसका लागि स्थानीय समुदायका व्यक्ति, संघ–संस्था, अवकासप्राप्त शिक्षक, अवकास प्राप्त सुरक्षाकर्मीलगायतलाई पनि परिचालित गर्न सकिने विचार राख्नुभयो । 

सस्तो लोकप्रियताका लागि जथाभावी आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दै जाँदा त्यसले झन खतरा निम्त्याउने बताउँदै आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दा स्वास्थ्य मापदण्डलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिनुभयो ।

शाक्यले जोड दिँदै भन्नुभयो, ‘यस्तो बेलामा संघ, प्रदेश वा स्थानीय सरकार एक्लैको प्रयासले केही पनि हुँदैन । सबैले मिलेर यो अभियानमा लाग्यो भने मात्र सफल भइन्छ ।

Categorized in राष्ट्रिय