arin enterprises

सुन्धाराको मुल धारा नै नष्ट गरिएकोमा विरोध

SamacharDesk – Ram Dangol | २०७९ मङ्सिर २७, मंगलबार

धरोहरा पुनर्निमाणको क्रममा सुन्धारामा पानी पठाउने मु्ल धारा धारा नष्ट हुने गरी डोजर चलाइएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एक पत्रकार सम्ँमेलनको आयोजना गरी त्यसको विरोध गर्नुका साथै त्यहां भैरहेका सम्पूर्ण निर्माण कार्यहरु रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गर्नुभएको छ ।

न्यूरोड, काठमाडौंस्थित संकटा क्लवमा सोमवार विहान आयोजित पत्रकार भेटघाटमा मेयर साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाको रुपमा रहेको ऐतिहासिक सुन्धाराको सो संरचना पुननिर्माणको नाउँमा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

रमण कन्स्ट्रक्सन कम्पनीले सुन्धाराको ठीक पछाडी ठूलो खाडल बनाई त्यहां १ लाख लिटर पानी अट्ने विशाल टैंकी निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य वस्तु काठको लामो पाइप नष्ट हुन गएको छ ।

आइतबार सो घटना घटेपछि स्थानीय वासिन्दा, क्लवका प्रतिनिधि तथा वडा नं. २२ का अध्यक्षको सक्रियतामा सो निर्माण कार्यको विरोध भएपछि मेयर बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौं वर्ष पुरानो सो ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्यहरु महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारिएको छ ।

 

मेयर साहले सुन्धाराको मुख्य धारा भएको ठाउंमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पार्नुभएको छ । सो अवसरमा मेयर साह, वडा अध्यक्ष तथा स्थानीयको टोली गएर सुन्धारास्थित टैंकी निर्माण भैरहेको स्थलमा अवलोकन गरी सो निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको थियो ।

रमण कन्स्ट्रक्सनका प्रोजेक्ट मैनेजर सन्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेश अनुसार नै सो टैंकी निर्माण लगायतका कार्यहरु अघि बढेको जानकारी दिंदै हाललाई निर्माण कार्य रोक्न कामदारहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

सो अवसरमा वडा नं.२२ का अध्यक्ष चिनीकाजी महर्जन र संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सरकारी निकायहरुको निरन्तर प्रहारको कारण आज सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ ।

हिजो सुन्धारा स्थानीय वासिन्दाहरुको दैनिक जीवनमा उपयोग हुंदै आइरहेको खानेपानीको एक महत्वपूर्ण स्रोत रहेको कुरा उल्लेख गर्दै वक्तव्यमा हिजो आइतवार सुन्धारामा पानी झार्न तात्कालीन समयमा काठबाट बनाइएको सम्पूर्ण संरचना नै पूर्णरुपमा नष्ट गरिएको कुरा बताइएको छ ।

सो वक्तव्यमा भनिएको छ, स्थानीयको पटक, पटकको खवरदारी र ध्यानाकर्षणको बावजुद धरहरा परियोजनाबाट सम्पदा छेउमा काम गर्दा अपनाउन पर्ने सामान्य सुरक्षा मापदण्ड समेत नअपनाई लापरवाहीरुपमा गरिएको कामबाट ऐतिहासिक सुन्धाराको मुख्य धाराको पानी झार्नको निम्ति व्यवस्था गरिएको पुरातात्विक महत्वको संरचना क्षतविक्ष बनाइएको छ ।

सो वक्तव्यमा सो निर्माण कार्य तत्काललाई रोक्न, सो घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न धरहरास्थित सम्पदा पुननिर्माणको कार्यमा स्थानीय प्रतिनिधि तथा पुरातत्वविद्को अनिवार्य सहभागिता सुनिश्चित गर्न जोडदार माग गरिएको छ ।

ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करीव दुईसय वर्ष अघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मुल भने ४, ५ सय वर्ष भन्दा पुरानो भएको कुरा पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

Categorized in राष्ट्रिय