सुनकोसी नदीमा बेपत्ता दुई जनाको शव भेटियो
SamacharDesk | २०८० जेठ २३, मंगलबार

गत शुक्रबार सिन्धुलीमा भएको दुर्घटनामा बेपत्ता भएकामध्ये सुनकोसी नदीमा दुईजनाको शव भेटिएको छ ।
गत शुक्रबार खोटाङ जाने क्रममा सिटिइभिटीका तीन कर्मचारी चढेको गाडी दुर्घटना भई सुनकोसी नदीमा बेपत्ता भएको थियो । दुर्घटनाको पाँच दिनपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार दुर्घटनामा परेको गाडी र दुई शव नदीबाट निकालेको हो ।
शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डमा खटिएको टोलीले शव निकालेको हो ।
सीटीईभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप गएको शुक्रवार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
भक्तपुरबाट खोटाङका लागि छुटेको सीटीईभिटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँका कृष्ण केसी, पूर्वी नवलपरासीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक भानु पौडेल थिए ।
चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।
Categorized in समाज