सुपथ मूल्यका पसलहरु असोज ७ गतेदेखि संचालनमा
SamacharDesk | २०८१ भाद्र २७, बिहिबार
सरकारले दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सो कुराको जानकारी दिनुभएको हो ।
चाडपर्वमा उपभोक्ता बढी ठगिने भएकोले अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर सरकारले यस्ता पसल सञ्चालनमा ल्याउने गरिन्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । साथै चाडबाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी सुपथ मूल्यमा खाद्यान्नहरू उपलब्ध गराइने पनि उद्योग मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
उहाँले चामल, दालमा पाँच रुपियाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको बताउनुभयो । उहाँले कृत्रिम अभाव सिर्जना गर्न नदिने पनि दाबी गर्नुभयो ।
मन्त्री भण्डारीले चिनी, दाल, चिउरा, नुन, मैदालगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रूपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताउनुभयो ।
अत्यावश्यक वस्तुको सहज उपलब्धताको सुनिश्चितता सरकारले गर्ने उहाँको भनाइ छ । यस्तै सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ ।
गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायतमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
काठमाण्डौ उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ ।
साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ ।
Categorized in बिजनेस